सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड–१९ बिरामीका लागि आकस्मिक सेवा दिइने जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र कोभिड–१९ को आस्कमिक उपचारको व्यवस्था गरिएको पाइएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिए । अध्ययनमा २३ वटा कोभिड–१९ डेडिकेटेड अस्पतालले कोभिड–१९ का बिरामीलाई आकस्मिकसेवा नदिएको पाइएको छ । सरकारले कोभिड–१९ को उपचारका लागि देशभरिका ३० ठूला अस्पताललाई कोभिड–१९ डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ ।
अध्ययनमा कोभिड–१९ डेडिकेटेड अस्पताल भनी २५ वटा अस्पतालले मात्र कोभिड–१९ सँग सम्बन्धित कार्य सञ्चालन गरेको पाइएको छ । अन्य पाँच अस्पतालले कोभिड–१९ सँग सम्बन्धित कार्य नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । चार अस्पतालले गैर कोभिड–१९ बिरामीलाई वैकल्पिक अस्पतालमा सार्ने गरेको पाइएको छ । अध्ययनमा डेडिकेटेड अस्पतालमध्ये २० अस्पतालमा सघन उपचार कक्ष र सात अस्पतालमा एचडियु कक्ष रहेको पाइएको छ । ती २० अस्पतालमा २३५ सघन उपचार कक्ष र सात अस्पतालमा ९७ एचडियु कक्ष रहेको छ ।
यसैगरी १७ अस्पतालमा ९८ भेन्टिलेटर रहेका छन । अन्य १३ अस्पतालमा भने भेन्टिलेटर छैन । ती मध्ये १९ अस्पतालले कोभिड–१९ को सङ्क्रमण रोकथाम समिति गठन गरेका थिए । अध्ययनमा ९६ दशमलव ७ प्रतिशत अस्पतालले कोभिड–१९ व्यवस्थापन समूह, ९३ दशमलव ३ प्रतिशतले कोभिड–१९ सम्बोधन योजना बनाएका थिए ।
यस्तै ती अस्पतालमा ७२९ आइसोलेसन र एक हजार ९२६ शैया रहेका छन् । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार अस्पतालमध्ये एक चौधाई भन्दा बढी अर्थात ३० प्रतिशत अस्पतालमा कोभिड–१९ को नमूना परीक्षण गर्ने व्यवस्था नरहेको पाइएको छ । यस्तै १३ दशमलव ३ प्रतिशत अस्पतालमा मात्र कोभिड–१९ को नमूना सङ्कलनका लागि छुट्टै क्षेत्र तोकिएका छन् ।
तोकिएका अस्पतालमध्ये १० अस्पतालमा मात्र पिसिआर र १७ अस्पतालमा आरडिटी परीक्षणको व्यवस्था रहेको छ । मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ९३ वटा अस्पतालमा कोभिड–१९ क्लिनिक सञ्चालन गरेको छ । ती मध्ये ५२ वटा क्लिनिकले मात्र २४ सै घण्टा सेवा उपलब्ध गराएको अनुसन्धानका क्रममा देखिएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. धिमालले बताए
अध्ययनका अनुसार १९ क्लिनिकले मात्र सङ्क्रमण रोकथाम समिति गठन गरेर काम गरिरहेका छन् । ती क्लिनिकलमा १३ हजार ७२४ शैया, एक हजार १८५ आइसोलेसेन, ३५ क्लिनिकलमा ८०९ सघन उपचार कक्ष र ३१४ भेन्टिलेटर, १० वटा क्लिनिकलमा २७९ एचडियु सुविधा रहेको छ । यस्तै अध्ययनले सबै क्लिनिकले कोभिड–१९ बाहेकका बिरामीको लागि आकस्मिक सेवा भने उपलब्ध गराएका छन् ।