हुम्लाको लाप्चामा भवन बनाइएको भनिएकाे भूभाग चीनकै रहेको दूताबासको भनाइ

काठमाडौँ । हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भनी सार्वजनिक भएका समाचारको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ । दूतावासका प्रवक्ताद्वारा जारी प्रश्नाेत्तर नाेटमा दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको भन्दै चीनले भवन बनाएको भूभाग चीनकै रहेको जनाएको छ । यसबारे नेपालले थप प्रमाणिकरण गर्न सक्ने भन्दै दूताबासले दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएकाे पनि बताएकाे छ ।

दूतावासका प्रवक्ताको छोटो विज्ञप्तीको पूर्णपाठः

‘चीन र नेपाल मित्रवत छिमेकी हुन् । चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ । मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ । नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ । चीन र नेपालबीच सीमा विवाद छैन । दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन् ।’

यसअघि नेपाल–चीन सीमा क्षेत्रबाट नेपालतर्फको भूमिमा चीनले ९ वटा भवन बनाएको समाचार सार्वजनिक भएपछि हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले उक्त भूभाग आफ्नै भएको बताएको थियाे । सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो । टोलीमा नेपाली सेनाका सात जना र सशस्त्र प्रहरीका १४ जना सहभागी थिए ।

टोलीले लगभग डेढ घण्टा भवनहरू बनेको क्षेत्रमा बिताएपछि सीमा र सुरक्षा हेर्ने चिनियाँ सैनिक टोली आएर वार्ता गर्न नसकिने भन्दै नेपाली टोलीलाई फर्काइदिएका थियाे । चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि नेपाली अध्ययन टोली करिब डेढ घण्टा त्यहाँ बसेर फर्किएको टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए ।

र, याे पनि पढ्नुहाेसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *