काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावटसम्बन्धी तथ्यांक एकआपसमा बाझिएको छ । दुवै निकायले चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्मको विद्युत् चुहावटसम्बन्धी विवरण सार्वजनिक गरेका छन् । दुवै निकायको तथ्यांक एउटै हुनुपर्नेमा फरकफरक देखिएको हो ।
ऊर्जा मन्त्रालयले केही समयअघि चालू आवको चैत मसान्तसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा यस वर्षको विद्युत् चुहावट १७ दशमलव २ प्रतिशत देखाइएको छ । विद्युत् चुहावटसम्बन्धी यसबाहेक थप विवरण उक्त प्रतिवेदनमा छैन ।
यता प्राधिकरणले सार्वजनिक गरेको विवरणमा चैतसम्म १४ दशमलव ६३ प्रतिशत विद्युत् चुहावट देखाइएको छ । प्राधिकरणका अनुसार उक्त अवधिमा प्रसारण चुहावट ४ दशमलव ४६ प्रतिशत छ । वितरण चुहावट १० दशमलव १७ प्रतिशत छ ।
उक्त अवधिमा वितरण केन्द्रहरूमा ७ अर्ब ३७ लाख युनिट विद्युत् ९प्रसारण चुहावटबाहेक० प्राप्त भएको छ । त्यसमा ६ अर्ब २९ करोड १५ लाख युनिट विद्युत् प्रयोगमा आएको छ । बाँकी ७१ करोड २१ लाख ४८ हजार युनिट खेर गएको तथ्यांकमा देखिन्छ ।
नेपालमा हालसम्म विद्युत् प्रसारण र वितरणको काम प्राधिकरणले मात्रै गर्दै आएको छ । मन्त्रालयले पनि प्राधिकरणबाटै यससम्बन्धी विवरण ल्याएर तथ्यांक तयार गर्छ । त्यसअनुसार दुवै निकायको तथ्यांक एउटै हुनुपर्ने हो । तर, त्यस्तो नभएको उनीहरूकै तथ्यांकले पुष्टि गरेको छ । आर्थिक अभियान दैनिकबाट