काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान ६ महिनादेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै भट्टराईले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेकोको तर सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्, ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् ! सरकार किन कानमा तेल हालेर बसेको हो ?’

चीनले दुई साताअगाडिबाट नेपालसँगका केरुङ र तातोपानी नाका बन्द गरेपछि नेपाली व्यवसायीले खरिद गरेका अत्याश्यक स्वास्थ्य सामग्री बोकेका सयौँ कन्टेनर सीमापारि अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्रीसमेत चीनमै अड्किएको छ । बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज बोकेको गाडी पनि तीन हप्तादेखि चिनियाँ भूमिमा अलपत्र छ । सियाओ दिङ ट्रान्सपोर्टबाट केरुङसम्म ल्याउन लागिएको ०.०५ एमएल साइजका ११ लाख थान सिरिन्ज जंगलको बीचमा अलपत्र कन्टेनरमा छन् ।
केरुङ नाकाको रसुवागढी भन्सारका एक मजदुरलाई २२ दिनअघि कोरोना पोजिटिभ देखिएपछि चीनले नाका पूर्णरुपमा ढप्प पारेको थियो । ती मजदुर सक्रमणमुक्त भइसके नाका खुलाउने तर्फ चिनियाँ पक्ष गम्भीर देखिएको छैन । कोभिड महामारी सुरु भएपछि गत जेठमा खुलेको रसुवागढी भन्सारको कारोबार यसबीचमा मुस्किलले एक महिना भएको छ । कारोबार भएको समयमा पनि चीनले दैनिक ८ वटाभन्दा बढी कन्टेनर मात्र भित्रिन दिएको थिएन ।
पाँच वर्षअघिको महाभूकम्पदेखि नै नेपाली व्यवसायीलाई खासा र केरुङ नाकाबाट चीनले उसको भूभागमा जान दिइएको छैन । व्यवसायीका अनुसार केरुङमा १२ सयभन्दा बढी र तातोपानी नाकाको खासामा डेढ सय कन्टेनर सामान अलपत्र छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले केरुङ नाका खुलाउन चिनियाँ पक्षसँग कुरा भइरहेको जानकारी दिए । यद्यपि चिनियाँ पक्ष स्वास्थ्य सामग्री छुटाउनसमेत संवेदनशील देखिएको छैन ।
यो पनि
