आईपिएलमा बैंगलोरको विजयी सुरुवात

प्रज्जवल थापा

तनहुँ । इन्डियन प्रिमियर लिग (आईपिएल) मा रोयल च्यालेन्जर बैंगलोरले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा बैंग्लोरले सनराइजर्स हैरबादलाई १० रनले पराजित गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा सनराइजर्सले टस जितेर बैंगलोरलाई ब्याटिङको निम्तो दिँदा बेंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । बेंगलोरको लागि डेब्यु खेल खेलेका ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ११ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

डेब्यु खेल खेलिरहेका २० वर्षीय बायाँ हाते ब्याट्सम्यान पाडिक्कलले अर्ध शतक प्रहार गरेका थिए । पाडिक्कल ४२ बलमा ८ चौकाको मद्दतमा ५६ रनमा बोल्ड आउट हुन पुगे । लगत्तै १२ औँ ओभरको पहिलो बलमा फिन्च २९ रनमा एलबिडब्लू आउट हुँदै पलिभियन फर्किए । फिन्चले २७ बलमा २ छक्का र १ चौका प्रहार गरे ।

त्यसपछि ब्याटिङ गर्न आएका कप्तान कोइली राशिद खानबाट १३ बलमा १४ रनमा क्याच आउट हुन पुगे । एबी डिभिलियर्स ३० बलमा ४ चौका र २ छक्का ५१ रनमा रन आउट हुन पुगे । अन्तिम बलमा शिवम दुबे ७ रनमा रन आउट भए । जोश फिलिपे १ रनमा नट आउट भए । सनराइजर्सको लागि अविशेक शर्मा, विजय शङ्खर र नत्राजनले समान १र१ विकेट लिए ।

जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो । एक समय खेलमा पुरै पकड जमाएको सनराजर्स १५ ओभरमा १२१/२ को स्थितिमा रहेपनि जित दर्ता गर्न सकेन । हैदराबादले अन्तिम ३२ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार बेहोरेको हो ।

हैदराबादका कप्तान तथा ओपनर डेभिड वार्नर दोस्रो ओभरको चौथो बलमा ६ रनमा रन आउट भए । दोस्रो विकेटका लागि जोनी बेयरस्टो र मनिष पाण्डेले ७१ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । १२ औं ओभरको अन्तिम बलमा युजभेन्द्र चहलले पाण्डेको विकेट लिएपछि सनराजर्सको पतन सुरु भएको थियो । पाण्डेले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

फेरि चहलले नै १६ औँ ओभरको दोस्रो बलमा बेयरस्टोलाई ६१ रनमा आउट गर्दै खेलमा फर्काएका थिए । बेयरस्टोले ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । लगतै अर्को बलमा चहलले विजय शंकरलाई बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा फर्काएका थिए । त्यसपछि ब्याटिङ गर्न आएका कुनै पनि ब्यासम्यानले दोहोरो अङ्क बनाउन नसक्दा हैरबाद हार बेहोर्न बाध्य भयो ।

बैंगलोरको लागि चहलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । शिवम दुबेले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । नपदीप सैनीले ४ ओभरमा २५ रन खर्चिदै दुई विकेट लिँदा डेल स्टेनले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *