शानदार पुनरागमन जीत निकाल्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । सर्वाधिक १३ पटकको च्याम्पियन रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटी अतिरिक्त समयमा ३-१ गोलले तथा समाग्रमा ६-५ गोलले पराजित गर्दै म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन रोड्रिगोले दुई गोल गर्दा करिम बेन्जिमाले एक गोल गरे । सिटीको लागि रियाद माह्रेजले एक गोल गरे । एकसमय समाग्रमा ५-३ गोलले पछि रहेको म्याड्रिडले च्याम्पियन्स लिग इतिहासकै एक उत्कृष्ट पुनरागमन गर्दै जीत निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा माह्रेजले गोल गर्दै सिटीलाई खेलमा १-० र समाग्रमा ५-३ गोलले अगाडि बढाएका थिए । निर्धारित समयको अन्तिम मिनेटमा करिम बेन्जिमाको पासमा रोड्रिगोले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए ।

इन्जुरी समयको पहिलो मिनेटमा एसेन्सियोको पासमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरेपछि म्याड्रिडले खेलमा २-१ गोलको अग्रता लिँदा समाग्रमा ५-५ गोलको बराबरी गरेको थियो । निर्धारित समयमा विजेताको टुङ्गो नलागेपछि १५/१५ मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयको ९५ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै म्याड्रिडलाई खेलमा ३-१ र समाग्रमा ६-५ गोलको अग्रता दिलाए ।

सिटीका डिफेन्डर डियासले बेन्जिमालाई डि-बक्समा लडाएपछि म्याड्रिडले पाएको पेनाल्टीमा बेन्जिमाले कुनै गल्ती गरेनन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड खेलमा ३-१ र समाग्रमा ६-५ गोलले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । अब म्याड्रिडले उपाधिको लागि मे २८ मा हुने फाइनल खेलमा इङ्लिस क्लब लिभरपुलको समना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *