विजयकुमार सरावगी
मेयर उम्मेदवार
विजयकुमार सरावगी आर्थिक, सामाजिक एवम् राजनैतिक क्षेत्रको स्थापित नाम हो । आर्थिक क्षेत्र वीरगञ्ज उद्योग वाणिज्य संघ र वीरगञ्ज महानगरपालिकाको कुशल नेतृत्व गरिसकेका विजयकुमार सरावगी आउँदो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाको प्रमुखको उम्मेदवार छन् ।
गत निर्वाचनमा १९ हजार १९७ मतल्याएर विजयी भएका सरावगी यस पटक १० हजार मतान्तरले विजयी हुने दावी गर्छन् ।
सरावगी भन्छन्, ‘राजनीति सेवाहोतर केही राजनीतिक पार्टीका नेताहरूले राजनीतिलाई पेशा नै बनाएका छन् ।’
वीरगञ्जका विकास गर्न कुनै नेताले चासो नदिएपछि आफू वाध्यभई राजनीतिमा निःस्वार्थरूपमा सामाजिक कार्य गर्ने भाव लिएर आएको सरावगी वताउँछन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू माथि विश्वास देखाउनु भएकोमा आभार व्यक्त गर्दै उहाँले अगाडि सार्नु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान साकार पार्न लाग्ने सरावगी वताउँछन् ।
व्यापारिक घरानामा जन्मिएर उद्योग व्यापारको लामो अनुभव संगालेपछि समाज परिवर्तनको उत्कट अभिलाषा बोकेर राजनीतिमा सक्रिय व्यक्तित्व हुन् सरावगी । बि.स. २०२४ भदौ २३ गते (सेप्टेम्बर ८, १९६७) मा पिता चिरञ्जीवीलाल सरावगी र माता पद्मादेवीका ज्येष्ठ सन्तानको रूपमा वीरगञ्जमा जन्मिएका सरावगीको बाल्यकाल आर्थिक तथा औद्योगिक शहर वीरगञ्जकै काखमा बित्यो । शुरू शिक्षा दिक्षा वीरगञ्जबाटै पाएका उनी व्यवस्थापन विषयमा स्नातक गरेर पुस्तैनी उद्यममा प्रवेश गरे ।
काम प्रति उनको नयाँशैली र सोचले व्यवसायलाई गति मात्र दिएन, उनमा नेतृत्व क्षमता पनि प्रखर रूपमा विकास हुँदै गयो । उनी अहिले उदीयमान औद्योगिक तथा व्यापारिक घराना सरावगी ग्रुपको प्रबन्ध निर्देशक छन् । यस अलावा शिक्षा, स्वास्थ्य र वित्तीय संस्थाहरूमा उहाँको नेतृत्वदायी भूमिका छ । एसिया मेडिकलकलेज एण्ड टिचिङ हस्पिटल, एसियन लाइफ इन्सुरेन्स कम्पनी, ज्ञानदा एकेडेमी जस्ता सेवामूलक काम उनकै नेतृत्वका सफल उपक्रमहरू हुन् ।
२०७० सालतिर दलीय राजनीतिमा सक्रिय भएका सरावगी विद्यार्थी कालदेखि नै राजनीतिमा आवद्ध हुँदै आएका हुन् । अन्तर निहित व्यवस्थापकीय दक्षता र नेतृत्व क्षमताकै कारण उनले उद्योग व्यापार मात्र होइन, निजी क्षेत्रका अग्रणी संस्था हुँदै मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जको नेतृत्व गर्न सक्षम भए । आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको उद्देश्यबाट ओतप्रोत सरावगीले विगतमा बारा र पर्सा जिल्लाका उद्यमी व्यापारीहरूको वर्गीय संस्था वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षको रूपमा नेतृत्व प्रदान गरे । संघको संस्थागत विकास र उद्यमव्यापारको हितका सन्दर्भमा उहाँको नेतृत्व अविस्मरणीय छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघलाई कुशल अगुवाई गरेका सरावगी यति मै रोकिएनन् । समग्र उद्योगी व्यापारीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा तीन कार्यकाल कार्यकारिणी सदस्यको भूमिकामा रहे । महासंघमा व्यापार समितिको सहसंयोजक रहेर नेतृत्व गरेका सरावगी नेपाल–भारत मानवविकास तथा मैत्री संगठनमा उद्योग र व्यापार विभागका संयोजक हुन् ।
देश संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरको प्रमुखमा निर्वाचन लड्दै पूर्णकालीन राजनीतिमा होमिएका सरावगी एक कुशल नेतृत्वकर्ताको रूपमा स्थापित छन् ।
उद्यम,व्यापार र निजीक्षेत्रका संस्था हाँक्दा प्राप्त व्यवस्थापकीय अनुभवले उनलाई राजनीतिक सरोकारहरूको सम्बोधनलाई सहज बनायो । उद्यम व्यापारका क्षेत्रमा पाएको दक्षताले सरावगीलाई जनताका आवश्यकता र त्यसको परिपूर्तिको उपाय पहिल्याउन सघाउ पुगेको छ । परिणाम, सीमित स्रोत साधनमाखुम्चिएको वीरगञ्जमहानगरलाई विकासको बाटोमा सफलतापूर्वक अघि बढाउन सरावगी सक्षम भएका छन् ।
कोरोना महामारीबाट जनजीवन आक्रान्त बनिरहँदा सरावगीको यही व्यवस्थापकीय शैलीमा आधारित रहेर सीमान्त शहर वीरगञ्जले महामारी नियन्त्रणमा अपनाएको मोडेल देशकै लागि उदाहरणीय बन्नपुगेको थियो ।
दक्ष व्यवस्थापक हुँदै कुशल राजनीतिज्ञको छवि बनाएका सरावगी समाज सेवामा पनि उत्तिकै सक्रिय छन् । विगत २५ वर्षभन्दा लामो समयदेखि विभिन्न सामाजिक सरोकारका संघसंस्था मार्फत समाज सेवाका आयामहरूमा सक्रिय छन् ।
नेपाल रेडक्रस सोसाइटी, मारवाडी सेवा ट्रष्ट, मारवाडी युवा मञ्च, लायन्स क्लव अफ वीरगञ्ज गेटवे लगायतका संस्थामार्फत सामाजिक सेवाको नेतृत्व लिएका सरावगी विश्व गायत्री परिवार नेपालको संयोजक र वीरगञ्ज योग विज्ञान शिविर पतञ्जलीको संयोजक एवम् पतञ्जली योग पीठ हरिद्वार, भारतको कर्पोरेट सदस्यको रूपमा संस्कृति, अध्यात्मतथा योगमार्फत निरोग अभियानमा अविछिन्न लगाव राख्छन् ।
स्थानीय भाषा संस्कृति र सञ्चारमाध्यमको प्रवद्र्धनलाई प्राथमिकताको अग्रभागमा राख्ने सरावगी एक समय स्थानीय सामुदायिक रेडियो नारायणी एफएमका अध्यक्ष थिए ।
उनकै नेतृत्वमा वीरगञ्ज महानगरले भोजपुरी भाषाको संरक्षण र सञ्चारमाध्यमको प्रवद्र्धनका लागि कानून ल्याउने नेपालमै पहिलो स्थानीय सरकारको रूपमा आफूलाई दर्ज गराएको छ । सामाजिक विकासलाई भौतिक विकासको आधार मान्ने सरावगी वीरगञ्जको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारलाई विशेष जिम्मेवारी ठान्छन् । वीरगञ्जको नृसिंह मावि र सिद्धार्थ माविको व्यवस्थापनको नेतृत्वमा रहेर भौतिक स्तरोन्नतिमा उल्लेख्य काम गरेका सरावगीले वीरगञ्जका सामुदायिक विद्यालयको समग्र शैक्षिक अवस्था सुधारमा प्रशंसनीय काम गरेका छन् । नवयुगबाट साभार ।
प्रस्तुति : महेश दास
