नेपाल-चीन पारस्परिक हितमा आधारित सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा उपसभामुखको जोड

काठमाडौँ । उपसभामुख रुबी कुमारी चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएकी छन् । उपसभामुख कुमारी सन् जुलाई १५ देखि २० सम्म सिजाङको न्यिङ्चीमा आयोजित पाँचौँ चीन–सिजाङ ट्रान्स–हिमालय अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन चीन भ्रमणमा गएकी थिइन् ।

मञ्चको उद्घाटन समारोह तथा मुख्य सत्रलाई सम्बोधन गर्दै उनले ट्रान्स–हिमालय क्षेत्रका मुलुकबीच सम्पर्क सञ्जाल, सांस्कृतिक सम्बन्ध र पारस्परिक हितमा आधारित सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएकी थिइन्।

भ्रमणका क्रममा उपसभामुखले चिनियाँ कम्युनिष्ट पार्टीको सिजाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ जुनझेङको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहकार्य विस्तार गर्ने तथा क्षेत्रीय तहमा साझेदारी अभिवृद्धिका विषयमा छलफल भएको थियो।

उपसभामुखले नेपाल एक चीन सिद्धान्तप्रति दृढ प्रतिबद्ध रहेको पुनः दोहोर्याउँदै पूर्वाधार विकास, व्यापार तथा लगानी, ऊर्जा र पर्यटनलगायतका क्षेत्रमा, विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीनसँग सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताएकी थिइन्।

न्यिङ्चीमा मञ्चका कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधिमण्डल ल्हासा पुगेको थियो। ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले उपसभामुख तथा प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गरेको थियो।

भ्रमणका क्रममा उपसभामुखले नगारी (अली) प्रिफेक्चर पुगेर कैलाश पर्वत र मानसरोवरको दर्शन गरेकी थिइन्। साथै ल्हासामा पोटाला दरबार, जोखाङ मन्दिर, दुइलोङ जिल्लास्थित नाङ्गा समुदायको महिला परिषद् तथा ल्हासा समग्र बन्डेड जोनको अवलोकन गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *