चुनावी तालमेलले सत्ता गठबन्धनमा रडाकोः बागी उम्मेदवार उठाउने चेतावनी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलका शीर्ष नेताको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गरेपनि दलका नेता कार्यकर्ता भने नेतृत्वसँग असन्तुष्ट भएका छन् । नेतृत्वले आत्मघाती निर्णय गरेको भन्दै कांग्रेस, जनता समाजवादी पार्टीका नेताहरु नेतृत्वसँग असन्तुष्ट बनेका छन् । कतिपय जिल्लाका नेता कार्यकर्ताले चुनावी तालमेल आफूहरुलाई मान्य नहुने भन्दै बागी उम्मेदवार खडा गर्ने चेतावनीसमेत दिएका छन् ।

कास्कीमा नेकपा(एकीकृत समाजवादी)लाई मेयर दिएको भन्दै कांग्रेस नेताहरु रुष्ट बनेका छन् । उनीहरुले उम्मेदवार सिफारिस गरी जिल्ला र केन्द्रमा पठाउने बताएका छन् । उनीहरुले कलममा कुनै हालतमा मत नहाल्ने बताएका छन् । निर्णयको विरोधमा महानगर कमिटीले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी नै गरेको छ । जनकपुरधाम उपमहानगरपालिका सत्ता गठबन्धनको भागबण्डा अनुसार जनता समाजवादी पार्टी नेपाल (जसपा) को भागमा परेपछि कांग्रेस नेता कार्यकर्ताहरुले आपति जनाउंदै विरोध प्रदर्शन गरेका छन् । स

त्ता गठबन्धनको सहमति बाहिरए लगत्तै जनकपुरधाम नगर समितिका पदाधिकारी तथा सदस्यहरुले गठबन्धनको निर्णयप्रति आपति जनाउंदै बुधबार साँझ जुलुस तथा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । कांग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवले भने, ‘हाम्रो पार्टीको उम्मेदवार मनोज साह हो, गठबन्धनले जसपालाई दिएको भागबण्डा कदापी स्वीकार गर्दनौं ।’

कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी निर्णय र कार्यकर्ताको भावना विपरीत तालमेलको निर्णय भएको भन्दै आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘यो तालमेल आत्माघाती हो । यसले पार्टी कमजोर बनाउँछ ।’

चुनावी तालमेलप्रति जनता समाजवादी पार्टीमा पनि असन्तुष्टि बढेको छ । जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले आपत्ति जनाएका छन् । गठबन्धनबाट नेपालगञ्ज उपमहानगरपालिका मेयर नदिए बागी उम्मेदवारी दिने उनले चेतावनी दिएका छन् । सत्ता गठबन्धनबाट मेयर नेपाली काँग्रेसको भागबण्डामा परेपछि राईले मेयरमा बागी उम्मेदवारी दिने चेतावनी दिएका हुन् ।

नेकपा माओवादी केन्द्रमा पनि उम्मेदवार सिफारिसलाई लिएर पार्टी छाड्ने क्रम सुरु भइसकेको छ । दाङका पार्टी जिल्ला इन्चार्ज जीवन गौतमले त उम्मेदवार सिफारिसप्रति असन्तुष्टि जनाउँदै पार्टी नै छाडेका छन् । अन्य जिल्लामा पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै माओवादी नेताहरु एमाले प्रवेश गर्ने लहरनै चलेको छ । चुनावी तालमेल गर्ने गठबन्धनको कुरा चलिरहेका बेला नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका कतिपय नेताहरु यसअघि नै पार्टी परित्याग गरि एमाले प्रवेश गरिसकेका छन् । बुधबार पाँच दलबीच भएको भागबण्डाको सहमतिले पार्टी छाड्ने लहर बढ्ने अनुमान गरिएको छ ।

निर्वाचन आयोगले उम्मेदवार मनोनयका लागि वैशाख १० र ११ गतेका लागि मिति तोकेको छ । अब असन्तुष्ट नेता कतिले बागी उम्मेदवार खडा गर्ने हुन् मनोनयनमा पक्कै देखिनेछ । अनि बागी उम्मेदवार खडा नगरेका ठाउँमा एक पार्टीका मतदाताले अर्को पार्टीका उम्मेदवारलाई मत देलान् त ? त्यसका लागि भने वैशाख ३० सम्म कुर्नैपर्छ ।

सत्ता गठबन्धनबीच महानगर र उपमहानगरमा मिल्यो भागबन्डा, कहाँ कुन दल ? (सूचीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *