गण्डकीमा सत्तारुढ दलहरुबिच गठबन्धन गर्ने सहमति

पोखरा, चैत २०। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रभाव यकिन गरी आपसी गठबन्धन गर्नेमा सत्तारुढ प्रदेशस्तरका नेताहरु सहमत भएका छन् । केन्द्र भन्दा पनि प्रदेश र स्थानीय तहमा गठबन्धन गरेर गएमा धेरै स्थानमा आफ्नो पकड जमाउन सकिने उनीहरुको दाबी छ ।

नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको बैठकमा सत्तारुढ ५ दलका नेताहरुबीच सो विषयमा सहमति गरेको काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिए । उनले चैत २२ मा बस्ने पुनः अर्को बैठकमा प्रदेशका ११ जिल्लामा संगठनको वर्तमान सांगठनिक अवस्था यथार्थ जानकारी प्रस्तुत गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा मिलेर जाने निर्णय भएसँगै कार्यकर्ताहरुमा उत्साह भएको जनाए । उनले जुन स्थानीय तहमा जुन दलको पकड छ, सोही अनुसार नै अगाडि बढ्नुपर्ने प्रस्ताव दलका प्रतिनिधिले राखेको बताए ।

स्थानीय निर्वाचनका लागि प्रदेशस्तरमा तालमेल गर्दै पाँच दलको संयुक्त घोषणापत्र जारी गरिने तयारी रहेको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *