काठमाडौं । महंगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एक व्यापारीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिकाको कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीको नेतृत्वमा गएको बजार अनुगमन टोलीले महंगोमा प्याज बिक्री गरेका फेला पारेपछि व्यापारी सुनलि केसीलाई प्रहरीको जिम्मा लगाइएको हो । भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ ।
काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनिविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ ।
