काठमाडौं। निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ ।
आगामी २०७९ साल वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोगले सुरु गरेको ‘कल सेन्टर’मा उजुरी वा गुनासो गर्न सकिने छ । निर्वाचन आचारसंहिता–२०७८ ले गरेको व्यवस्थाबमोजिम आयोगले कल सेन्टर सुरु गरेको हो ।
आचारसंहिता पालना गर्नुपर्ने उम्मेदवार वा आचारसंहिता लागू हुने संस्था, निकाय वा व्यक्तिले उल्लङ्घन गरेको पाइए सूचना दिन सक्ने व्यवस्था गरेको छ । आयोगको निर्वाचन आचारसंहिता भने अझै लागू भइसकेको छैन ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्गलबार काठमाडौँस्थित आयोगको कार्यालयमा कल सेन्टरको उद्घाटन गरेका हुन् । विराटनगरबाट अच्युत दाहालले मतदाता नामावलीमा आफ्नो नामबारे जानकारी लिन गरेको प्रश्नको प्रमुख आयुक्त थपलियाले जवाफ दिएका थिए।
आयोगका उपसचिव एवं योजना अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराईले सर्वसाधारणले आचारसंहिता उल्लङ्घनबारे टोलफ्री नम्बरमा जानकारी गराउन सक्ने र आयोगले जानकारी पाएलगत्तै छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताए।
उनले मतदाता वा नागरिकलाई स्थानीय तह निर्वाचनसम्बन्धी जानकारी उपलब्ध गराउन आयोगले टोलफ्री नम्बर ११०२ सहितको कल सेन्टर सञ्चालनमा ल्याए पनि एउटै मात्र उद्देश्यमा केन्द्रित नहुने बताए ।कल सेन्टर बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालनमा रहनेछ ।
आयोगका उपसचिव भट्टराईले हाल चार जना जनशक्तिबाट सुरु भएको कल सेन्टरमा जिज्ञासाको चाप हेरेर नौ जनासम्म जनशक्ति परिचालन गरिने छ । जटिल प्रकृतिका प्रश्नको उत्तर कल सेन्टरमा खटिएका कर्मचारीले दिन नसकेमा सम्बन्धित शाखा प्रमुखले दिने आजको गोरखापत्र दैनिकमा खवर छ ।