काठमाडौं। तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवि भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनका नेता तथा नेकपा (मोओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।
राष्ट्रपति भण्डारी र विदेशमन्त्री वाङबीच अहिले बिहान १० बजे भेटवार्ता हुँदैछ । राष्ट्रपतिसँगको भेटपछि विदेशमन्त्री वाङले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवर्ता गर्नेछन् ।
एमाले अध्यक्ष ओलीसंग अहिले विहान ११ः१० बजे हुने भेटवार्तामा नेपाल–चीन द्विपक्षीय हितबारे छलफल हुने जनाईएको छ । त्यस्तै, ११ः४५ बजे माओवादी अध्यक्ष दाहाल र विदेशमन्त्री यी बीच भेटवार्ताको कार्यक्रम रहेको छ ।
उक्त भेटमा पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल हुने जनाईएको छ । विदेशमन्त्री यीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गरेका थिए । विदेशमन्त्री यी नेपाल भ्रमण समापन गरेर आजै ३ बजे बेइजिङ फर्किने छन् ।