एजेण्डा नभएपछि गाली

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै राजनीतिक दलहरु चुनावी अभियानमा जुटेका छन् । पार्टी प्रवेश गराउनेदेखि पार्टीका आन्तरिक बैठक, भेला, प्रशिक्षण दिनहुँजसो हुन थालेका छन् । ती कार्यक्रममा एक दलले अर्को दलको उछितो काढ्ने काम तीव्र रुपमा हुन थालेको छ । काम गरेर राम्रो बन्ने भन्दा पनि अर्को दललाई गाली गरेर जनतामाझ आफूलाई राम्रो देखाउने दलहरुमा होडबाजी नै चलेको छ । खासगरी नेकपा एमाले र नेकपा(एकीकृत समाजवादी)मा यस्तो होडबाजी चलेको छ ।

एमालेबाट छुट्टिएर बनेको नेकपा(एकीकृत समाजवादी) का नेताहरु एमालेप्रति बढीनै आक्रामक देखिन थालेका छन् । दिनहुँजसो हुने कार्यक्रममा एकीकृत समाजवादीका नेताहरु एमाले कम्युनिष्ट नभएको भन्दै आक्रोस पोख्न थालेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल एमालेप्रति संकेत गर्दै निर्वाचनमा प्रतिगामी तथा अहंकारी व्यक्ति होलिका दहन भएजस्तै पराजय हुने बताउँदै आएका छन् । उनी भन्छन्,‘नयाँ पार्टी खोल्नै सक्दैन, केपी ओलीसँग टक्कर लिन सक्ने यो धरतीमा कोही छैन भन्ने थियो । हामीले देखाइदियौं ।’ त्यस्तै नेपालले निर्वाचनमा एमालेलाई धुलो चटाउनेसमेत बताउने गरेका छन् । सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि के कम उनी पनि निर्वाचनमा एमालेको जिरो मत आउने दाबी गर्दै आएका छन् । उनी भन्छन्,‘आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ । उनको बाकसमा जिरो मत पाउनुपर्छ । तब मात्र नेपाली जनताले सही ढंगले संवधानको रक्षा गरेको ठहर हुन्छ ।’

मत दिने काम जनताको हो । जनताले दलका एजेण्डा र नेता हेरेर मत दिने गर्छन् । नेताको भाषणले होइन ।  खासमा दलका नेताहरुले एकअर्कालाई गाली गरेपनि चुनावी एजेण्डा नभएको यी नेताहरुको अभिव्यक्तिबाट स्पष्ट हुन्छ । अझ एकीकृत समाजवादी नयाँ दल भएकाले उसले आफ्ना एजेण्डा जनतामाझ लैजानुपर्ने हो । अझ उसको त बैधानिकतामाथि नै प्रश्न छ । माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चैत २० गतेका लागि तोकिएको छ । एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए । यदि सर्वोच्चले सभामुखको निर्णय र निर्वाचन आयोगको निर्णय बदर गरिदिएको खण्डमा माधव नेपालहरु दलविहीन हुनेछन् ।

मत पाउन अन्य राजनीतिक दलका भन्दा राम्रा एजेण्डा दलहरुले तय गर्नुपर्ने हो । जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता नेकपा एमालेको सरकारले सुरु गरेको थियो । त्यो अहिले लोकप्रिय बनेको छ । यो कार्यक्रमलाई सबै दलका सरकारले निरन्तरता दिँदै अघि बढाइरहेका छन् । हो यस्ता एजेण्डा अहिले कुनै दलले पनि अगाडि सारेको देखिँदैन जसबाट जनताले राहतको महसुस गरुन् । त्यसैले दलका नेताहरुले अर्कालाई गाली गर्ने भन्दा पनि जनताका आशा र अपेक्षा पूरा गर्ने एजेण्डा लिएर जनताको घरदैलोमा जाने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *