काठमाडौं । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै दलहरु निर्वाचनको तयारीमा जुटेका छन् । मिति घोषणासँगै एउटा दलबाट अर्को दलमा पार्टी प्रवेश गर्ने त लहर नै चलेको छ । एउटा पार्टी परित्याग गरी आफ्नो पार्टीमा नेताहरु प्रवेश गर्न थालेपछि पार्टीका नेताहरु हौसिन थालेका छन् । सबै राजनीतिक दलले पार्टी प्रवेश कार्यक्रमलाई अभियानका रुपमा संचालन गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेताहरु निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउने दाबी गर्न थालेका छन् । नेकपा एमाले स्थानीय तह निर्वाचनमा ६५ देखि ७० प्रतिशत स्थानमा जित्नेमा ढुक्क छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एक्लै चुनावी मैदानमा उत्रिने र आफ्नो पार्टीले ६५ देखि ७० प्रतिशत स्थानमा जित्ने बताउँदै आएका छन् । उनले सांसदहरुलाई नेता जस्तो नभई कार्यकर्ता जस्तो भएर जनताको घरदैलोमा जान निर्देशन दिइसकेका छन् ।
नेपाली कांग्रेस पनि निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउनेमा ढुक्क छ । ऊ किन पनि ढुक्क छ भने कम्युनिष्ट पार्टीहरु विभाजन भएकाले त्यसको फाइदा आफ्नो दललाई हुनेछ । पार्टी महामन्त्री गगन थापा अब तीनै तहको निर्वाचनमा कांग्रेसको बहुमत आउने र ढुक्कसँग पाँच वर्ष सरकार चलाउने बताउँछन् ।
नेकपा माओवादी केन्द्र भने निर्वाचनमा आफ्नो दल दोस्रो स्थानमा रहने बताउँदै आएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा माओवादी दोस्रो दलको रुपमा स्थापित हुने रिपोर्ट आफूलाई आएको बताउँदै आएका छन् । उनले भने,‘ पहिलो दलको रुपमा कांग्रेस आउँछ । हामी दोस्रो दलको रुपमा स्थापित हुन्छौं । तर अलिकति मेहनत गरियो भने पहिलो दल हुन पनि सक्छौं । त्यसैले साथीहरुले अलि मेहनत गर्नुपर्यो । किनकी तीनै तहको निर्वाचन हाम्रा लागि जीवन मरणको लडाइँ हो।’
नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) ले भने अरु दलको जस्तो दाबी गरेको छैन । उसले चाहिँ निर्वाचनमा एमालेलाई लक्षित गर्दै प्रतिगामी प्रवृत्तिलाई जनताले दण्डित गर्ने बताउँदै आएको छ । पार्टी अध्यक्ष माधव नेपाल भन्छन्, ‘प्रतिगामी तथा अहंकारी व्यक्ति होलिका दहन भएजस्तै पराजय हुनेछन् ।’ खासमा एकीकृत समाजवादी आफू जित्ने भन्दा पनि एमालेलाई क्षति पुर्याउने अभियानमा लक्षित हुने देखिन्छ । नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र यसअघि पनि निर्वाचनमा सहभागी भइसकेका दल हुन् । तर नेकपा(एकीकृत समाजवादी) भने पहिलो पटक निर्वाचनमा सहभागी हुँदैछ । त्यसैले उसका लागि यो निर्वाचनमा ठूलै कसरत गर्नुपर्नेछ । निर्वाचनका बारेमा दलहरुले अहिले नै अनुमान गरेपनि त्यसका लागि भने जेठ पहिलो सातासम्म कुर्नैपर्नेछ ।
