रुसी सैनिकद्वारा ब्रेड लिन लाम लागेका युक्रेनीको हत्या

काठमाडौं । युक्रेनमा आक्रमण गरिरहेको रुसी सेनाले चेर्निभमा ब्रेड लिन लाम लागेका १० युक्रेनीको हत्या गरेको दाबी अमेरिकाले गरेको छ। युक्रेनको राजधानी किएभमा रहेको अमेरिकी दूतावासले बुधबार ट्विट गर्दै यस्तो दाबी गरेको हो।

‘यस किसिमको भयानक आक्रमण तत्काल रोकियोस्। हामी युक्रेनमा भइरहेको यस किसिमका अत्याचारपूर्ण अपराधलाई जवाफदेही बनाउन उपलब्ध सबै विकल्पबारे विचार गरिरहेका छौं,’ दूतावासको ट्विटमा छ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनमा रुसी हवाई आक्रमण रोक्न नो फ्लाई जोन लागु गर्न आग्रह गरेका छन्। उनले पश्चिमा मुलुकहरूसँग युक्रेनको स्वतन्त्रताको रक्षाका लागि एयरक्राफ्ट उपलब्ध गराउन पनि आग्रह गरेका छन्। उनले रुसी आक्रमण सामान्य नभई बर्बर भएको बताएका छन्। अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। सम्बोधन सुरु गर्नुभन्दा पहिले अमेरिकी सांसदले उठेर जेलेन्स्कीलाई सम्मान गरेका थिए।

युक्रेनका विभिन्न सहरमा हमला गरिरहेका रुसी सैनिकले मरिउपोलको एक अस्पतालमा चार सय जनालाई बन्धक बनाएको त्यहाँका उपमेयरले बताएका छन्। बन्धक बनाइएकामा चिकित्सक र बिरामी समेत छन्।

यसैबीच युरोपका तीन मुलुकका प्रधानमन्त्री युक्रेनी राष्ट्रपतिलाई भेट्न रेल चढेर किएभ पुगेका छन्। पोल्यान्ड, स्लोभानिया र चेक गणतन्त्रका प्रधानमन्त्रीले मंगलबार बेलुकी किएभमा कफ्र्यु सुरु भएपछि राष्ट्रपति जेलेन्स्कीसँग भेट गरेका हुन्। भेटमा चेक गणतन्त्रका प्रधानमन्त्रीले युक्रेनी नेतालाई उनीहरू एक्लो नभएको बताएका थिए। रुसले युक्रेनमा हमला सुरु गरेपछि युरोपेली मुलुकका प्रधानमन्त्रीहरूले पहिलो पटक किएभ भ्रमण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *