काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत आज हुने खेलमा घरेलु टोली युएई र नेपाल भिड्दैछन् । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल बिहान ११:१५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा नेपाल सिरिजमा लगातार दोस्रो जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । हिजो बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । जीतसँगै नेपाल ९ खेलबाट १० अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेको छ ।
पपुवा न्युगिनीविरुद्धको खेलमा फेरि एकपटक नेपाली टोलीको ब्याटिङ कमजोर देखिएको थियो । शुरुवाती ४ ब्याट्सम्यानलाई सस्तैमा गुमाएपछि पाँचौ विकेटको लागि अरिफ शेख र रोहित कुमार पौडेलले सतकिय साझेदारी गर्दै नेपाललाई जीततर्फ डोर्याएका थिए । त्यसैले तुलात्मक रुपमा बलियो रहेको घरेलु टोली युएईविरुद्ध जीत निकाल्न नेपालको दुवै ब्याटिङ र बलिङ चल्न जरुरी रहेको छ ।
नेपाललाई आजको खेलमा बदला लिने अवसरपनि रहेको छ । ओमानमा भएको आईसीसी टि-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना समाप्त भएको थियो । त्यसैले नेपाल आजको खेल जित्दै बदला लिन चाहन्छ ।
यता युएईलेपनि सिरिजको पहिलो खेलमा पीएनजीलाई ७ विकेटले पराजित गरेको थियो । हाल युएई १५ खेलबाट १८ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । युएईले आफ्नो पछिल्लो ५ एकदिवसीय खेल मध्य ३ खेलमा जीत निकाल्दा दुई खेलमा पराजित भएको छ ।
दुई टोलीबीच भएको पछिल्लो ४ भेटमा दुवै टोलीले २/२ खेल जितेका छन् ।
