ट्रम्पलाई झट्का, इरान युद्ध रोक्ने प्रस्ताव अमेरिकी कंग्रेसबाट पारित

रोयटर्स । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्धको सैन्य कारबाही रोक्न निर्देशन दिने प्रस्ताव पारित गरेको छ । यसअघि प्रतिनिधिसभाले पनि उक्त प्रस्ताव पारित गरिसकेको थियो ।

मंगलबार सिनेटमा भएको मतदानमा ५०–४८ मतका साथ ‘वार पावर्स रिजोल्युसन’ पारित भएको हो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धप्रति ट्रम्पकै केही रिपब्लिकन सांसदले समेत असन्तुष्टि जनाउन थालेका छन् ।

सन् १९७३ मा लागू भएको ‘वार पावर्स एक्ट’पछि पहिलोपटक अमेरिकी कंग्रेसका दुवै सदनले राष्ट्रपतिलाई युद्धरत क्षेत्रमा रहेका अमेरिकी सैनिक फिर्ता गर्न निर्देशन दिने प्रस्ताव पारित गरेका हुन् ।

यो प्रस्ताव कानुनी रूपमा धेरै प्रभावकारी नहुने भए पनि ट्रम्पका लागि राजनीतिक झट्का मानिएको छ । हालसम्म अधिकांश रिपब्लिकन सांसदको बलियो समर्थन पाउँदै आएका ट्रम्पलाई आफ्नै दलभित्रबाट चुनौती देखिन थालेको छ ।

युद्धको खर्च व्यवस्थापनका लागि ट्रम्प प्रशासनले कंग्रेससँग थप अर्बौं डलर बजेट माग गर्ने तयारी गरिरहेको बेला प्रस्ताव पारित भएको हो । नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि केही रिपब्लिकन सांसद विभिन्न मुद्दामा ट्रम्पको विरोधमा उभिन थालेका छन् ।

पछिल्लो सर्वेक्षणअनुसार केवल २५ प्रतिशत अमेरिकीले मात्र इरानविरुद्धको युद्ध त्यसको लागतअनुसार उचित रहेको विश्वास गरेका छन् । अधिकांश अमेरिकीले इरानसँगको युद्धविराम दीर्घकालीन नहुने चिन्ता व्यक्त गरेका छन् ।

मतदानपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रस्तावको आलोचना गर्दै यसलाई ‘गलत समयमा गरिएको र अर्थहीन’ कदम बताएका छन् ।

उनले प्रस्तावको पक्षमा मतदान गर्ने सांसदहरूले इरानलाई सहयोग पुगेको आरोपसमेत लगाएका छन् । यता ट्रम्प प्रशासनले इरानसँग शान्ति सम्झौताको प्रयास जारी राखेको छ । कंग्रेसको यो कदमले वार्ता असफल भए पनि पुनः सैन्य कारबाही नगर्न ट्रम्पमाथि थप दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *