रास्वपाका नेताको टिप्पणीः रविको राजनीतिक प्रतिवेदन ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता हुन योग्य !

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य रमेश पौडेलले पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि महाधिवेशनमा छलफल गर्न नपाएको भन्दै कटाक्ष गरेका छन् ।

उनले प्रतिवेदन करिब सात सेकेन्डको अन्तरमा पारित भएको भन्दै त्यसलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता हुन योग्य रहेको टिप्पणी गरेका छन् । पौडेलले लामिछानेले आफ्नै राजनीतिक प्रतिवेदनमा ‘व्यापक एवं गहन छलफल हुने’ अपेक्षा व्यक्त गरे पनि व्यवहारमा त्यस्तो हुन नसकेको बताएका हुन् ।

उनले भनेका छन्, ‘तपाईंले प्रतिवेदन वाचन सम्पन्न गर्नुभएको र हललाई प्रतिवेदन पारित गर्न आह्वान गर्नुभएको बीचमा करिब सात सेकेन्डको मात्र अन्तर रह्यो ।यो हिसाबले हेर्दा ४,२०० प्रतिनिधिले सात सेकेन्डमै गरेको ‘गहन छलफल’ स्वतः गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता हुन योग्य देखिन्छ।’

यस्तो छ पौडेलको टिप्पणी

श्री रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। तपाईंको प्रतिवेदनको अन्तिम अनुच्छेदमा उल्लेख गरिएका दुई अपेक्षाले विशेष रूपमा मेरो ध्यान आकर्षित गर्यो ।

१) प्रतिवेदनमाथि व्यापक र गहन छलफल हुने अपेक्षा।

२) तपाईंले लिएका निर्णय तथा गरेका कामकारबाहीमाथि रचनात्मक सुझाव र टिप्पणी प्राप्त हुने अपेक्षा।

यी दुई अपेक्षासम्बन्धी मेरो टिप्पणी तथा सुझावः

१) प्रतिवेदनमाथि गहन छलफल हुने तपाईंको अपेक्षा पूरा हुन नसकेकोमा मलाई दुःख लागेको छ। तपाईंले प्रतिवेदन वाचन सम्पन्न गर्नुभएको र हललाई प्रतिवेदन पारित गर्न आह्वान गर्नुभएको बीचमा करिब सात सेकेन्डको मात्र अन्तर रह्यो। यो हिसाबले हेर्दा, ४,२०० प्रतिनिधिले सात सेकेन्डमै गरेको ‘गहन छलफल’ स्वतः गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता हुन योग्य देखिन्छ।

२) तपाईंको दोस्रो अपेक्षा भने एक केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधिका रूपमा म पूरा गर्न चाहन्छु। मेरो एउटै सुझाव छ– यस कार्यकालमा पार्टीका महत्त्वपूर्ण दस्तावेज, नीति तथा विषयहरूमाथि व्यापक, गहन र सार्थक छलफलको संस्कृति विकास गर्न सफल हुनुहोस्।

सभापति बाहेकका केन्द्रीय नेतृत्वका लागि निर्वाचनमा होमिनुभएका सम्पूर्ण प्रतिनिधिहरूलाई हार्दिक शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *