एजेन्सी । इङ्लिस क्लब चेल्सी युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा लिललाई २-१ ले तथा समाग्रमा ४-१ गोलले पराजित गर्दै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
दुई टोलीबीचको पहिलो लेगमा चेल्सी २-० गोलले विजयी भएको थियो । स्टाडे पिएरे माउरीमा भएको दोस्रो लेगमा चेल्सीलाई जीत दिलाउन क्रिस्टेन पुलिसिक र सेसार अज्पिलिकुएटाले एक/एक गोल गरे । लिलको तर्फबाट बुराक यिल्माजले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा लिल पराजित हुन पुग्यो ।
खेलको ३८ औं मिनेटमा यिल्माजले पेनाल्टीमा गोल गर्दै लिललाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा जोर्जिन्होको पासमा पुलिसिकले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए । ७१ औं मिनेटमा माउन्टको पासमा अज्पिलिकुएटाले गोल गर्दै चेल्सीलाई २-१ गोलको अग्रता दिलाए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चेल्सीले समाग्रमा ४-१ गोलको जीत निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पराजित लिल भने प्रतियोगिताबाट बाहिरिएको छ ।
