काठमाडौं । साफ यु-१८ महिला च्याम्पियनसिप फूटबलमा नेपालले फराकिलो हार बेहोरेको छ । मंगलबार बेलुकी भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग ७-० गोलको फराकिलो हार बेहोरेको हो ।
जम्शेदपुरमा भएको खेलमा भारतलाई जीत दिलाउन ल्यन्डा कोम सेर्टोले दुई गोल गर्दा प्रियङ्का सुजेश, अपुर्ना नर्जरी, पुर्णिमा कुमारी, सुनिता मुन्डा र नितु लिन्डाले एक/एक गोल गरिन् । खेलको १४ औं मिनेटमा प्रियङ्काले गोल गर्दै भारतलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । १७ औं मिनेटमा ल्यन्डाले गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन् ।
३५ औं मिनेटमा ल्यन्डाले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाइन् । पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल थप्यो । ६९ औं मिनेटमा अपुर्नाले गोल गर्दै भारतलाई फराकिलो जीततर्फ अगाडि बढाएकी थिइन् । ७६ औं मिनेटमा पुर्णिमाले गोल गर्दै भारतलाई ५-० गोलको अग्रता दिलाइन् ।
८६ औं मिनेटमा सुनिताले गोल गर्दै भारतको गोल अन्तर बढाइन् । यस्तै इन्जुरी समयको सातौं मिनेटमा नितुले गोल गर्दै भारतलाई ७-० गोलको फराकिलो जीत दिलाएकी हुन् । नेपालले खेलअवधि भर विपक्षीको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । यससँगै भारतले प्रतियोगिताको शुरुवात जीतबाट गर्दै ३ अङ्क जोडेको छ ।
अब नेपालले दोस्रो खेलमा बिहीबार बंगलादेशको सामना गर्नेछ ।
तस्बिर:- साफ
