काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अमेरिकी सहयोग परियोजना(एमसीसी) को विपक्षमा थिए । एमसीसी नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाधिनताविरुद्ध रहेको उनको मत थियो । उनी एमसीसीविरुद्ध भएपनि पार्टीले एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गर्यो र संसदबाट अनुमोदन पनि भयो । संसदबाट अनुमोदन भएपछि उनले सामाजिक संजालमा यस्तो लेखे, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधिनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’
नारायणकाजीले फरक मत यसरी सामाजिक संजाल र विभिन्न संचारमाध्यममा राख्न थालेपछि माओवादीमा यसले ठूलै हल्लाखल्ला मच्चियो । यसपछि एमसीसीका विषयमा पार्टीका धारणा सार्वजनिक गर्न भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन आयोजना गरे । पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजीलाई हिरो हुने काम नगर्न र फरक मत पार्टी बैठकमा राख्न आग्रह गरे । प्रचण्डले भने, ‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछन् भन्ने परेको होला । जनता ह्वारह्वार मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रुपमै बोलिदिनु भएछ । नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावादका मुर्दावाद गरेका छन् । उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि, तर त्यस्तो हुँदैन। एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालसँगै सबै लाग्ने थिए । तर त्यस्तो हुँदैन राजनीतिमा।’ त्यतिमात्र भनेनन् प्रचण्डले नारायणकाजीतिर लक्षित गर्दै महाकाली सन्धिका बेला वामदेव जसरी पार्टी छाडेर गए आफूले रोक्न नसक्ने टिप्पणी गरे ।
प्रचण्डको यस्तो अभिव्यक्ति पछि नारायणकाजीले आफू निकटका नेताहरुसँग आफूलाई अध्यक्षले पार्टी छाड्न भनेको भन्दै छलफल सुरु गरे । एमसीसीका कारण यस्तो भएपछि माओवादी विभाजनको संघारमा पुगेको भन्दै खबर सार्वजनिक हुन थाले । यतिमात्र होइन नारायणकाजीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग पनि छलफल गरे । एमसीसी विरोधी मोर्चा बनाउन अभियान विप्लवले थालेका थिए । त्यसपछि प्रचण्ड र नारायणकाजीबीच पटक पटक छलफल भयो । पार्टीनै विभाजन हुन लागेको भन्दै खबर सार्वजनिक हुन थालेपछि नारायणकाजीले फेरि सामाजिक संजालमा लेखे, ‘हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तरबिरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न, तोडमोड गरी बिकृत ढङ्गले नबुझ्न र मुद्दा केन्द्रित बहस गर्न सबैसँग अनुरोध गर्दछु । अध्यक्ष कमरेड प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ ।’
अन्ततः शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा नारायणकाजीले एमसीसीका बारेमा लिखित रुपमा फरक मत राखेका छन् । एमसीसी सम्झौता बारेको गम्भीर मतभेदका सम्बन्धमा पार्टीमा तलैसम्म व्यापक छलफल बहस चलाएर टुङ्गो लगाउने निर्णय बैठकले गरेको छ । तर बहस भने आगामी जेठ २० गते बस्ने केन्द्रीय समिति बैठकमा । बैठकका निर्णयकाबारेमा नारायणकाजीले भने, हाम्रो पार्टी नेकपा ( माओवादी केन्द्र )को हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी भित्र रहेको एमसीसी सम्झौता बारेको गम्भीर मतभेदका सम्बन्धमा पार्टीमा तलैसम्म व्यापक छलफल बहस चलाएर टुङ्गो लगाउने निर्णय गरेको छ । त्यसका लागि ज्येष्ठ २० गते देखि बहस(फोरम) सञ्चालन गरी करीब एक महिनामा निष्कर्षमा पुर्याउने निर्णय गरिएको छ ।’
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । जेठ २० गतेसम्म नेपाली राजनीतिमा धेरै पानी बग्नेछ । चतुर प्रचण्डले पार्टीभित्रको संकटलाई केही हदसम्म मिलाएका छन् । तर जेठ २० गतेपछि हुने फरक मतको बहसको के अर्थ छ र ? आखिर नारायणकाजी निरीह बन्ने त होलान् नि !
