सर्वोच्च अदालतको परमादेश पूर्वाग्राही रहेको भन्दै जसपा नेपालको प्रदर्शन(फोटोफिचर)

काठमाडौं । गौर हत्याकाण्ड छानबिनका लागि सर्वोच्च अदालतले दिएको परमादेश पूर्वाग्राही रहेको भन्दै जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताले मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् ।

सोमबार जसपा नेपालका कार्यकर्ताले विराटनगर, सप्तरी, जनकपुर, सर्लाही र रौतहटलगायतका जिल्ला प्रदर्शन गरेका हुन् ।

जसपा नेपालका मोरङका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको थियो। राजनीतिक पूर्वाग्रह राखेर गौर घटनाको छानबिन गर्न लागिएकोले विरोध प्रदर्शन गरिएको यादवले बताए । त्यस्तै जसपा नेपालका कार्यकर्ताले जनकपुरधामको रामानन्द चोकमा प्रदर्शन गरेको छन् ।

मधेस आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने हिसाबले अदालतको परमादेश आएको भन्दै जसपा नेपालका नेता कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गौर हत्याकाण्ड अनुसन्धान गर्न परमादेश जारी गरेको हो । हत्याकाण्डको छानबिन हुनुपर्ने माग गर्दै त्रिभुवन साहलगायतले रिट दायर गरेका थिए । लामो समयदेखि कुनै अनुसन्धान अघि नबढेको यो घटनाको अनुसन्धान अघि बढाउन राष्ट्रिय मानवअधिकार आयोगलेसमेत सिफारिश गरेको थियो ।

आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान अघि बढाउन भनेको थियो । २०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडपमा २९ माओवादी कार्यकर्ता मारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *