कम्युनिस्ट समूहलाई एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास जारी छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको बताएका छन् ।

पार्टीको उपत्यका प्रदेश समितिद्वारा शनिबार आयोजित बृहत् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दुईमहिने राष्ट्रिय जागरण अभियानलाई पार्टी पुनर्निर्माण, संगठनात्मक सुदृढीकरण र आगामी स्थानीय निर्वाचनको तयारीसँग जोडिएको बताए ।

उनले भने, ‘ राष्ट्रिय स्वाधीनतामाथिका चुनौतीलाई ध्यान दिँदै र जनतासँग पार्टीको सम्बन्धलाई पुनः सुदृढ गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको हो । यो अभियानका तीनवटा मुख्य उद्देश्य छन् । पार्टी सदस्यता नवीकरण र संगठनात्मक समायोजन सम्पन्न गर्ने, आगामी स्थानीय निर्वाचनको प्रारम्भिक तयारी गर्ने र पार्टीको महाधिवेशनको तयारीलाई अगाडि बढाउने । साथै, आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा पनि यो अभियानलाई अघि बढाइएको छ ।’

साथै, आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा पनि अभियानलाई अघि बढाइएको उनले बताए ।प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादी आन्दोलनको बलियो राजनीतिक केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिए । विभिन्न कम्युनिस्ट घटकसँग एकता, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर अघि बढिरहेको उल्लेख गर्दै उनले अन्य कम्युनिस्ट समूहलाई पनि एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास जारी रहने बताए ।

नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव तथा नेकपा मसालसँग दुईबुँदे प्रस्तावसहित विभिन्न राजनीतिक शक्तिसँग संवाद भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘हामीले कम्युनिस्ट आन्दोलनको एकताको झन्डालाई अझ माथि उठाउने लक्ष्य लिएका छौँ । नेपालका साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने हाम्रो प्रयास जारी छ ।

एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि बढाएका छौँ । विभिन्न पक्षसँग संवाद र सहकार्य गर्दै विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गरी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने दिशामा हामी अगाडि बढिरहेका छौँ ।’

शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उनको भनाइ छ । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र र समावेशिताका पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याउन पार्टीले पहल गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *