हिमाली काग्यु परम्पराको पुनर्जागरण, ‘काग्यु मोलम चेन्मो’ र योल्मो कानिङ सेडुप लिङ गुम्बाको ऐतिहासिक भूमिका

हिमाली काग्यु परम्पराको पुनर्जागरण, ‘काग्यु मोलम चेन्मो’ र योल्मो कानिङ सेडुप लिङ गुम्बाको ऐतिहासिक भूमिका: परम पूजनीय चौथो गद्दीधारी लामा कर्म रेजुङ योल्मोपा रिन्पोछेको विशेष योगदानको अध्ययन

सारसंक्षेप (Abstract)

नेपालको मध्य-उत्तरी हिमाली भेग, विशेषगरी सिन्धुपाल्चोकको योल्मो क्षेत्र, प्राचीन कालदेखि नै बौद्ध धर्मको साधना र आध्यात्मिक अभ्यासको एक पवित्र ‘बेयुल’ (लुकेको पुण्य भूमि) का रूपमा परिचित छ। यस क्षेत्रमा निङमा (Nyingma) र काग्यु (Kagyu) दुवै बौद्ध परम्पराको गहिरो संगम पाइन्छ। सन् १७९२ (वि.सं. १८४९) मा दशौँ श्यामारपा (10th Shamarpa) मिफाम छोड्रुप ग्याम्छोको योल्मो क्षेत्रमा परिनिर्वाण भएपछि हिमाली काग्यु परम्पराका सर्वोच्च गुरुहरू – कर्मापा (Karmapa) र श्यामारपा र योल्मो क्षेत्रको ऐतिहासिक ‘देव ङ्येतोङ’ (सरमा लामा) वंशबीचको प्रत्यक्ष आध्यात्मिक एवं सांगठनिक सम्बन्ध झन्डै दुई शताब्दी (२१० वर्ष) सम्म स्थगित रह्यो। सन् २००० (वि.सं. २०५७) मा लोपोन छेच्यु रिन्पोछे (कुशोग) को पहलमा तथा योल्मो कानिङ सेडुप लिङ गुम्बाका चौथो गद्दीधारी प्रमुख लामा परम पूजनीय कर्म रेजुङ योल्मोपा रिन्पोछेको दूरदर्शी नेतृत्व र अदम्य प्रयासबाट कसरी यो ऐतिहासिक सम्बन्धको पुनर्जागरण भयो भन्ने विषयको गहन विश्लेषण छ ।

साथै, १७ औँ ग्याल्वा कर्मापा र १४ औँ श्यामार रिन्पोछेको नेतृत्वमा भारतको बोधगयामा आयोजना हुने विश्वप्रसिद्ध ‘काग्यु मोलम चेन्मो’ मा योल्मो समुदाय‘योल्मो कानिङ सेडुप लिङ गुम्बा’र ‘योल्मो काग्यु साङङाग लाछोग’ को निरन्तर उपस्थिति, भूमिका र त्यसले हिमाली बौद्ध संस्कृतिमा पारेको दूरगामी प्रभावलाई यस अध्ययनले उजागर गरेको छ।

यो स्तम्भमा हामीले बुझ्नु पर्ने मुख्य शब्दहरू:

योल्मो , योल्मो कानिङ सेडुप लिङ गुम्बा, लामा कर्म रेजुङ योल्मोपा, देव ङ्येतोङ वंश, कर्मापा, श्यामारपा, लोपोन छेच्यु रिन्पोछे, काग्यु मोलम चेन्मो।

१. ऐतिहासिक पृष्ठभूमि

हिमालयको काखमा अवस्थित योल्मो क्षेत्र केवल भौगोलिक रूपले मात्र सुन्दर नभई आध्यात्मिक दृष्टिकोणले पनि अत्यन्तै उर्वर भूमि हो। हिमाली तथा भोट बौद्ध ग्रन्थहरूमा योल्मोलाई गुरु पद्मसम्भव (गुरु रिन्पोछे) द्वारा आशीर्वादित पवित्र ‘बेयुल’ (Beyul) अर्थात् सङ्कटको समयमा साधकहरूका लागि सुरक्षित राखिएको पुण्य भूमिको रूपमा वर्णन गरिएको छ। आठौँ शताब्दीमा गुरु पद्मसम्भव र एघारौँ शताब्दीमा महायोगी मिलारेपाले यस क्षेत्रका गुफाहरूमा कठोर तपस्या गरेपछि यहाँ बौद्ध धर्मको जग बसेको मानिन्छ। पछि भोटको प्राचीन यारलुङ राजवंशका सन्तति तथा महान सिद्ध गुरुहरूको आगमनसँगै योल्मो  क्षेत्र निङमा र काग्यु सम्प्रदायको एक महत्त्वपूर्ण केन्द्रका रूपमा विकसित भयो।
यस क्षेत्रको धार्मिक इतिहासमा ‘देव ङ्येतोङ’ (Deva Nyetong) वा स्थानीय भाषामा ‘सरमा लामा’ वंशको स्थान अत्यन्तै उच्च छ। भोटको यारलुङ राजवंशसँग रगतको नाता जोडिएको यस वंशले शताब्दीयौँदेखि योल्मो क्षेत्रमा काग्यु परम्पराको ध्वजा फहराउँदै आएको छ। विशेषगरी १६ औँ र १७ औँ शताब्दीमा योल्मोको ऐतिहासिक गोछाङलिङ गुम्बा (Gochhangling Monastery) भोटका महान काग्यु गुरुहरू – कर्मापा र श्यामारपा अनी योल्मोका स्थानीय गुरुहरूबीचको आध्यात्मिक मिलनविन्दु बनेको थियो भने १८ औँ शताब्दीको अन्त्यतिर बदलिँदो भूराजनीतिक परिस्थिति र सन् १७९२ मा दशौँ श्यामारपाको योल्मो क्षेत्रमा भएको परिनिर्वाणपछि यो जीवन्त सम्बन्धमा एक लामो पूर्णविराम लाग्यो।

इतिहासको त्यो शून्यतालाई चिर्दै २१ औँ शताब्दीको संघारमा (सन् २००० मा) जसरी योल्मो र सर्वोच्च काग्यु गुरुहरूबीचको सम्बन्ध पुनः जोडियो, त्यसको केन्द्रमा एक असाधारण व्यक्तित्व उभिनुभएको छ “परम पूजनीय लामा कर्म रेजुङ योल्मोपा रिन्पोछे “ । उहाँ योल्मो कानिङ सेडुप लिङ गुम्बाका चौथो गद्दीधारी प्रमुख लामा मात्र नभई, सुसुप्त अवस्थामा पुगेको एक महान् आध्यात्मिक परम्परालाई पुनर्जीवन दिने युगपुरुषका रूपमा स्थापित हुनुहुन्छ।

२. ह्योल्मो कानिङ सेडुप लिङ गुम्बाको स्थापना र विरासत

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका -१ (साविक बाँसखर्क गाविस–७, जादेन) मा अवस्थित योल्मो कानिङ सेडुप लिङ गुम्बा (Yolmo Kanying Shedrub Ling Monastery) योल्मो क्षेत्रको जीवित इतिहास हो। सन् १८४० (वि.सं. १८९७) मा महान गुरु रिग्सङ ग्याल्पो योल्मोपा रिन्पोछे (१८२२–१९११) द्वारा यस गुम्बाको स्थापना गरिएको थियो।

२.१ वंशीय गौरव र ‘कानिङ’ दर्शन

संस्थापक रिग्सङ ग्याल्पो रिन्पोछे भोटका प्राचीन यारलुङ राजवंशका वंशज तथा गोछाङलिङ गुम्बाका मुख्य धर्मगुरु कर्म छोसाङ (१५८३–१६३८) का प्रत्यक्ष सन्तति हुनुहुन्थ्यो। गुम्बाको नाममा रहेको ‘कानिङ’ (Ka-Nying) शब्दले गहिरो दार्शनिक अर्थ बोकेको छ। हिमाली तथा भोट बौद्ध परम्परामा ‘का’ भन्नाले काग्यु (Kagyu) र ‘निङ’ भन्नाले निङमा (Nyingma) सम्प्रदायलाई जनाउँछ। यसरी ‘कानिङ सेडुप लिङ’ को अर्थ “काग्यु र निङमा दुवै परम्पराको अध्ययन (Shed) र साधना (Drub) गरिने पवित्र स्थल” भन्ने हुन्छ। योल्मो क्षेत्रको मौलिक विशेषता नै यी दुई सम्प्रदायको सामञ्जस्यपूर्ण सहअस्तित्व हो, जसलाई यस गुम्बाले संस्थागत रूप दियो।

२.२ राजकीय संरक्षण र प्रतिमा विज्ञान

यस गुम्बाको ऐतिहासिक महत्त्वलाई नेपालका तत्कालीन शासकहरूले समेत उच्च सम्मान गरेका थिए। इतिहासमा मल्ल राजाहरू तथा शाह वंशका शासकहरूले लालमोहर, ताम्रपत्र, सनदपत्र र गुठी जग्गा प्रदान गरी यस गुम्बाको संरक्षणमा योगदान पुऱ्याएको प्रमाण गुम्बाको अभिलेखमा सुरक्षित छ। गुम्बाको मुख्य प्रार्थना कक्ष (लखाङ) को मध्यभागमा आदिबुद्ध वज्रधर (Vajradhara) जो काग्यु परम्पराका मूल स्रोत हुन् – को भव्य प्रतिमा प्रतिस्थापन गरिएको छ। त्यसैगरी, दायाँतर्फ शाक्यमुनि बुद्ध र बायाँतर्फ निङमा परम्पराका प्रवर्तक गुरु पद्मसम्भवको मूर्तिले गुम्बाको ‘कानिङ’ स्वरूपलाई मूर्त रूप प्रदान गरेको छ।

नेपाल सरकारको पुरातत्व विभाग तथा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिमा (दर्ता नं. २०७) विधिवत् दर्ता रहेको यस गुम्बाको स्वामित्वमा करिब १२२ रोपनी जग्गा रहेको छ। संस्थापक लामा रिग्सङ ग्याल्पोपछि क्रमशः लामा तेन्जिङ, लामा बुजुङ, लामा कर्म रेजुङ र लोपोन रिन्पोछे लामा पेमा दोर्जे योल्मोपाले गुम्बाको गद्दी सम्हाल्नुभयो भने हाल छैटौँ गद्दीधारी प्रमुख लामाका रूपमा आचार्य लामा दावा साङ्बो योल्मोपा (दुङजिम रिन्पोछे) कार्यरत हुनुहुन्छ।

३. कर्मापा – श्यामारपा र देव ङ्येतोङ वंश: सम्बन्धको स्वर्ण युग र २१० वर्षे विच्छेद,

लामा कर्म रेजुङ योल्मोपाको ऐतिहासिक योगदानलाई बुझ्नका लागि सर्वप्रथम योल्मोको ‘देव ङ्येतोङ’ वंश र कर्मापा-श्यामारपा गुरुहरूबीचको प्राचीन सम्बन्धको गहिराइलाई नियाल्नु आवश्यक छ। काग्यु सम्प्रदायमा ‘‘रातो मुकुटधारी’’ श्यामारपा र ‘’कालो मुकुटधारी’’ कर्मापालाई एउटै आध्यात्मिक शक्तिको दुई रूप (अभिन्न गुरु -शिष्य) मानिन्छ।

३.१ स्वर्ण युगका ऐतिहासिक कडीहरू

१. छैटौँ श्यामारपाको योल्मो आगमन (१५८४–१६३०):

छैटौँ श्यामारपा छोकी वाङछुकले पहिलोपटक योल्मो क्षेत्रको भ्रमण गरी ऐतिहासिक गोछाङलिङ गुम्बामा निवास गर्नुभएको थियो। उहाँले पहिलाे पटक काठमाडौँ उपत्यकाको गहन अध्ययन गरी यहाँका मठ मन्दिर र तिर्थ बारे अभिलेख तयार गर्नु भयो। योल्मोको गोछाङलिङका तत्कालीन प्रमुख लामा कर्म छोसाङ रिन्पोछे (१५८३–१६३८) छैटौँ श्यामारपाका प्रमुख शिष्य तथा धर्मधारक हुनुहुन्थ्यो।

२. दशौँ कर्मापा र सातौँ श्यामारपाको धर्मस्वामीत्व 

दशौँ कर्मापा छोयिङ दोर्जे (१६०४–१६७४) र सातौँ श्यामारपा येशे ञिङ्पो (१६३१–१६९४) गोछाङलिङ गुम्बामा पहिलोपटक स्थापित पवित्र निधि ग्रन्थ ‘कोन्छ्योग च्यिदुई’ (Konchok Chidu) का धर्मस्वामी (छ्योदाग) हुनुहुन्थ्यो।

३. आठौँ श्यामारपाको योल्मोमा अवतरण (१६९५–१७३२):

योल्मो र श्यामारपा वंशबीचको सम्बन्ध तब चरम उत्कर्षमा पुग्यो, जब आठौँ श्यामारपा पाल्चेन छोकी दोन्डुपको जन्म योल्मो क्षेत्रकै देव ङ्येतोङ (सरमा लामा) वंशमा भयो। यस घटनाले देव ङ्येतोङ वंशलाई काग्यु इतिहासमा अद्वितीय स्थान दिलायो।

४. टुल्कु (अवतारी लामा) हरूको पहिचान:

तेह्रौँ कर्मापा दुदुल दोर्जे (१७३३–१७९७) ले देव ङ्येतोङ वंशमै ‘कर्मा गुरु रिन्पोछे’ को अवतार पहिचान गर्नुभएको थियो भने दशौँ श्यामारपा मिफाम छोड्रुप ग्याम्छो (१७४२–१७९२) ले सोही वंशमा ‘खेडुब छ्येन्पो कर्मा लोब्साङ’ को तेस्रो अवतारी पहिचान गर्नुभएको थियो।

३.२. सन् १७९२ को मोड र २१० वर्षको मौनता

सन् १७९२ (वि.सं. १८४९) भोट र नेपाली इतिहासमा एक संवेदनशील वर्ष थियो। नेपाल – भोट युद्ध र राजनीतिक उतारचढावका बीच दशौँ श्यामारपा नेपालको योल्मो क्षेत्रमा आउनुभयो र त्यहीँ देव ङ्येतोङ (सरमा लामा) वंशको गुम्बामा उहाँको परिनिर्वाण भयो। दशौँ श्यामारपाको परिनिर्वाणपछि भोटको तत्कालीन प्रशासनिक परिस्थिति, भौगोलिक विकटता र राजनीतिक अवरोधका कारण योल्मो क्षेत्रको देव ङ्येतोङ वंश र भोटका कर्मापा- श्यामारपाको मूल गद्दी (देन्सा) बीचको प्रत्यक्ष सम्पर्क टुट्न पुग्यो। सन् १७९२ देखि सन् २००० सम्मको करिब २१० वर्षको लामो कालखण्डमा योल्मोका लामाहरूले आफ्नो गुम्बाभित्र परम्परागत पूजाआजा र वंशीय संस्कार त जोगाइराखे तर आफ्ना मूल आध्यात्मिक स्रोत कर्मापा र श्यामारपासँगको प्रत्यक्ष दर्शन, अभिषेक र सांगठनिक सम्बन्धबाट वञ्चित रहनुपऱ्याे। इतिहासको यो लामो विच्छेदले योल्मोको काग्यु परम्परालाई एकाकी बनाउँदै लगेको थियो।

४. लोपोन छेच्यु रिन्पोछे (कुशोग): हिमाली बौद्ध धर्मका सेतु

२० औँ शताब्दीको मध्यतिर, विशेषगरी सन् १९५९ को भोटकाे राजनीतिक परिवर्तनपछि हिमाली क्षेत्रका बौद्ध गुम्बाहरू आर्थिक अभाव, संरक्षणको कमी र पहिचानको संकटबाट गुज्रिरहेका थिए। ठीक यही समयमा परम पूजनीय लोपोन छेच्यु रिन्पोछे (कुशोग) (१९१८–२००३) योल्मो र सम्पूर्ण हिमाली बौद्ध समुदायका लागि एक मसिहाका रूपमा उदाउनुभयो। भुटानमा जन्मिएर आफ्ना मामा लामा दुक्पा रिन्पोछे शेराब दोर्जेको सान्निध्यमा योल्मोका पवित्र गुफाहरूमा कठोर साधना गर्नुभएका लोपोन छेच्यु रिन्पोछेको योल्मो भूमिसँग आत्मीय लगाव थियो। उहाँले योल्मो क्षेत्रको धार्मिक पुनरुत्थानमा चारवटा ऐतिहासिक आयामबाट योगदान पुऱ्याउनुभयो ।

१. संस्थागत र राजकीय संरक्षण:

सन् १९८० को दशकमा तत्कालीन राजा र नेपाल सरकारले उहाँलाई राजपरिषद् सदस्य तथा ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’ को पहिलो अध्यक्षको जिम्मेवारी सुम्पियो। २० वर्षभन्दा बढी समयसम्म देशभरका करिब २,००० गुम्बाहरूको रेखदेख गर्ने क्रममा उहाँले योल्मोका विकट गुम्बाहरूमा सरकारी अनुदान, मर्मतसम्भार र नियमित छेच्यु पूजाको व्यवस्था मिलाउनुभयो।

२. तन्त्र र ध्यानको पुनर्जागरण:

१६ औँ ग्याल्वा कर्मापा लगायत चारै सम्प्रदायका गुरुहरूबाट प्राप्त दुर्लभ अभिषेक र तान्त्रिक ज्ञान उहाँले योल्मोका स्थानीय लामाहरूलाई प्रदान गरी गुम्बाहरूको आध्यात्मिक स्तर उकास्नुभयो।

३. तीर्थस्थलहरूको महिमा पुनर्स्थापना:

योल्मोको ‘बेयुल’ महत्त्वलाई स्वदेशी तथा विदेशी साधकहरूमाझ चिनाएर उहाँले यस क्षेत्रलाई पुनः जीवन्त आध्यात्मिक केन्द्र बनाउनुभयो।

४. काठमाडौँमा आश्रयस्थल 

योल्मोबाट काठमाडौँ झरेका लामा र सर्वसाधारणका लागि स्वयम्भूनाथ नजिकै साङ्गे छोलिङ गुम्बा स्थापना गरी उहाँले हिमाली समुदायलाई एकताबद्ध गर्ने साझा थलो निर्माण गर्नुभयो। लोपोन छेच्यु रिन्पोछेको यही दूरदर्शिताले सन् २००० मा योल्मोको इतिहासको सबैभन्दा ठूलो विच्छेदलाई जोड्ने सेतुको काम गऱ्याे।

५. एक सम्बन्ध सेतु नायकको उदय:

लामा कर्म रेजुङ योल्मोपा रिन्पोछे र ऐतिहासिक पुनर्मिलन कुनै पनि सुसुप्त इतिहासलाई ब्युँताउन एक दृढ इच्छाशक्ति भएको नायकको आवश्यकता पर्दछ। योल्मो कानिङ सेडुप लिङ गुम्बा र समग्र देव ङ्येतोङ वंशका लागि त्यो नायक हुनुहुन्थ्यो – परम पूजनीय चौथो गद्दीधारी लामा कर्म रेजुङ योल्मोपा रिन्पोछे।

५.१ गुम्बाको जीर्णोद्धार र सांगठनिक दूरदर्शिता

सन् १९७८ मा योल्मो कानिङ सेडुप लिङ गुम्बाको चौथो प्रमुख लामाको गद्दी सम्हाल्नुभएका लामा कर्म रेजुङ रिन्पोछेले सुरुवाती दिनदेखि नै गुम्बाको भौतिक र आध्यात्मिक सुधारमा आफूलाई समर्पित गर्नुभयो। सन् १८४० मा निर्मित गुम्बा समयक्रमसँगै जीर्ण बन्दै गएको थियो। उहाँले सन् १९७८ मै गुम्बाको पूर्ण जीर्णोद्धार सम्पन्न गराई प्राचीन कला, मूर्ति र परम्परालाई नष्ट हुनबाट जोगाउनुभयो।

उहाँको दृष्टि केवल एउटा गुम्बाको चार पर्खालभित्र सीमित थिएन। देव ङ्येतोङ (सरमा लामा) वंशका छरिएर रहेका लामाहरूलाई एकताबद्ध गरी आफ्नो वंशीय पहिचान र काग्यु धर्मपरम्परालाई संस्थागत गर्न वि.सं. २०४३ (सन् १९८६) मा ‘योल्मो काग्यु साङङाग लाछोग’ (Yolmo Kagyu Sangngak Lachog) नामक ऐतिहासिक संस्थाको स्थापना भएको र उक्त संस्थाको संरक्षक हुनुहुन्थ्यो । यो कदमले योल्मोका काग्यु लामाहरूलाई एउटै छातामुनि संगठित गऱ्याे, जुन पछि गएर अन्तर्राष्ट्रिय मञ्चमा योल्मोको प्रतिनिधित्व गर्ने बलियो आधार बन्यो।

५.२ वि.सं. २०५७ कार्तिक ७: २१० वर्षपछिको ऐतिहासिक मिलन 

लामा कर्म रेजुङ रिन्पोछेको हृदयमा एउटा गहिरो आध्यात्मिक प्यास थियो । सन् १७९२ मा दशौँ श्यामारपाको परिनिर्वाणपछि टुटेको कर्मापा र श्यामारपा वंशसँगको सम्बन्धलाई पुनः स्थापित गर्नु। उहाँको यही निष्ठा, तपस्या र निरन्तरको प्रयासलाई देखेर परम पूजनीय गुरु लोपोन छेच्यु रिन्पोछे (कुशोग) ले ऐतिहासिक पहल गर्नुभयो।

वि.सं. २०५७ साल कार्तिक ७ गते (२३ अक्टोबर २०००), सोमबारको दिन योल्मोको इतिहासमा स्वर्णाक्षरले लेखिने दिन बन्यो। काठमाडौँको बालुवाटारस्थित ‘मण्डला हाउस’ मा लोपोन छेच्यु रिन्पोछेको विशेष संयोजनमा योल्मो कानिङ सेडुप लिङ गुम्बाका चौथो प्रमुख लामा परम पूजनीय लामा कर्म रेजुङ योल्मोपा रिन्पोछेले परम पावन १४ औँ श्यामार रिन्पोछे (मिफाम छोकी लोड्रो) को सर्वप्रथम ऐतिहासिक दर्शन भेट गर्नुभयो।

यो केवल दुई व्यक्तिबीचको औपचारिक भेट थिएन; यो त २१० वर्ष लामो ऐतिहासिक मौनताको अन्त्य थियो। आठौँ श्यामारपाको जन्मस्थल र दशौँ श्यामारपाको परिनिर्वाण स्थल योल्मोको देव ङ्येतोङ वंशको प्रतिनिधि बनेर लामा कर्म रेजुङ रिन्पोछेले जब १४ औँ श्यामार रिन्पोछेसमक्ष साष्टाङ्ग प्रणाम गरी खदा अर्पण गर्नुभयो तब शताब्दीयौँदेखिको आध्यात्मिक ऋण चुक्ता भएझैँ एक अलौकिक वातावरण सिर्जना भयो। यस भेटमार्फत लामा कर्म रेजुङ रिन्पोछे २१० वर्षपछि परम पावन १७ औँ ग्याल्वा कर्मापा र परम पावन १४ औँ श्यामारपासँग प्रत्यक्ष सम्बन्ध पुनर्स्थापित गर्ने योल्मो क्षेत्रका प्रथम ऐतिहासिक व्यक्तित्व (नायक) का रूपमा स्थापित हुनुभयो।

यो एतिहासिक भेटको एक प्रसङ्ग

१४औ श्यमारपाले उहाँलाई पहिलो भेटमा मायाको चिनो स्वरुप तपाईंलाई के चाहियो ? भनेर सोध्नु भएको रहेछ, उहाँले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पर रही आफू संरक्षक रहेको संस्था योल्मो काग्यु लाछ्योगलाई सहयोग गर्न आग्रह गर्नु भएको रहेछ र १४ औ श्यामारपाले योल्मोमा केन्द्रिय गुम्बा निर्माण गर्न त्यो समयमा रु १० लाख रुपैयाँ दिनु भएको थियो भन्ने चर्चा पनि यस क्षेत्रमा व्यापक छ। त्यो निर्माण गर्ने भनेको गुम्बा बारे अन्यौलता अझ कायम छ।

६. १७ औँ कर्मापाको नेतृत्वमा ‘काग्यु मोलम चेन्मो’ र योल्मोको विश्वव्यापी उपस्थिति,

मण्डला हाउसको त्यो ऐतिहासिक दर्शन भेटले योल्मो समुदायका लागि विश्व बौद्ध मञ्चको ढोका खोलिदियो। उक्त भेटमा परम पावन १४ औँ श्यामार रिन्पोछेले देव ङ्येतोङ वंश र योल्मो कानिङ सेडुप लिङ गुम्बाको ऐतिहासिक पृष्ठभूमिलाई उच्च सम्मान गर्दै १५ डिसेम्बर २००० मा भारतको पवित्र तीर्थस्थल बोधगया (बुद्धगया) मा आयोजना हुने विश्वप्रसिद्ध ‘काग्यु मोलम चेन्मो-२०००’ (Kagyu Monlam Chenmo) का लागि प्रथम निमन्त्रणा लामा कर्म रेजुङ रिन्पोछेलाई प्रदान गर्नुभयो।

६.१ काग्यु मोलम चेन्मोको आध्यात्मिक महत्त्व

भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको पवित्र भूमि बोधगयाको महाबोधि स्तूप परिसरमा वार्षिक रूपमा आयोजना हुने ‘काग्यु मोलम चेन्मो’ (विश्व शान्ति महाप्रणिधान पूजा) काग्यु सम्प्रदायको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय आध्यात्मिक भेला हो। परम पावन १७ औँ ग्याल्वा कर्मापाको सर्वोच्च आध्यात्मिक नेतृत्व र परम पावन १४ औँ श्यामार रिन्पोछेको मार्गनिर्देशनमा सञ्चालन हुने यस महापूजामा विश्वभरका २० औ हजारौँ को दर्शनार्थीहरु, सयौ रिन्पोछे, टुल्कु, लामा, भिक्षु, भिक्षुणी र उपासक – उपासिकाहरू भेला भई विश्व शान्ति, प्राणी मात्रको कल्याण र बुद्ध शासनको चिरस्थायित्वका लागि सामूहिक प्रणिधान (प्रार्थना) गर्दछन्।

६.२ लामा कर्म रेजुङको नेतृत्वमा ऐतिहासिक सहभागिता

सन् २००० को डिसेम्बरमा जब चौथो गद्दीधारी लामा कर्म रेजुङ योल्मोपा रिन्पोछेको नेतृत्वमा योल्मो कानिङ सेडुप लिङ गुम्बा र उहाँद्वारा समर छ न स्थापित ‘ योल्मो काग्यु साङङाग लाछोग’ का लामाहरूको टोली बोधगयाको काग्यु मोलम चेन्मोमा सहभागी भयो, त्यो योल्मो समुदायका लागि गौरवको विषय थियो।

(क) पहिलो आधिकारिक प्रतिनिधित्व: शताब्दीयौँसम्म नेपालको हिमाली कुनामा सीमित रहेको योल्मोको काग्यु परम्पराले पहिलोपटक कर्मापा र श्यामारपाको प्रत्यक्ष छत्रछायामा विश्वभरका काग्यु मठ , गुम्बाहरूको पंक्तिमा आफ्नो आधिकारिक स्थान प्राप्त गऱ्याे।

(ख) सांस्कृतिक र धार्मिक पहिचान: योल्मोका लामाहरूले आफ्नो परम्परागत भेषभूषा, वाद्यवादन र लयमा पाठपूजा गर्दा विश्वभरबाट आएका बौद्ध धर्मावलम्बीहरूले योल्मोको समृद्ध ‘बेयुल’ संस्कृतिलाई नजिकबाट चिन्ने अवसर पाए।

(ग ) गुरु–शिष्य परम्पराको नवीकरण: लामा कर्म रेजुङ रिन्पोछेको यस कदमले योल्मोका युवा लामाहरूलाई १७ औँ ग्याल्वा कर्मापा र १४ औँ श्यामार रिन्पोछेबाट प्रत्यक्ष अभिषेक, आगम (लुङ) र उपदेश (ठ्री) ग्रहण गर्ने मार्ग प्रशस्त गरिदियो।

६.३ निरन्तरता र आयोजक कमिटीमा नेतृत्वदायी भूमिका

लामा कर्म रेजुङ रिन्पोछेले सन् २००० मा रोप्नुभएको त्यो आध्यात्मिक बिरुवा आज विशाल वटवृक्ष बनिसकेको छ। सन् २००० देखि हालसम्म योल्मो कानिङ सेडुप लिङ गुम्बा र योल्मो समुदायले बोधगयामा आयोजना हुने वार्षिक काग्यु मोलम चेन्मोमा निरन्तर र सक्रिय सहभागिता जनाउँदै आएको छ।

यसै निरन्तरताको अर्को गौरवपूर्ण अध्याय तब लेखियो, जब सन् २००० देखि २०१९ सम्म यसै गुम्बाका छैटौँ गद्दीधारी प्रमुख लामा पूजनीय दुङ्जिन रिन्पोछे आचार्य लामा दावा साङ्बो योल्मोपाज्यूलाई काग्यु मोलम चेन्मोको आयोजक कमिटीको महत्त्वपूर्ण जिम्मेवारी समेत प्राप्त भएको थियो।

एक समय सम्बन्धविच्छेदको अवस्थामा रहेको योल्मोको एउटा ग्रामीण गुम्बाका प्रमुख लामाले विश्वस्तरीय काग्यु मोलमको आयोजक कमिटीमा रहेर व्यवस्थापकीय नेतृत्व गर्नु लामा कर्म रेजुङ रिन्पोछेको दूरदर्शी पहलकै प्रतिफल हो। आज पनि योल्मो कानिङ सेडुप लिङ गुम्बा पूर्ण निष्ठाका साथ परम पावन १७ औँ कर्मापा र श्यामारपाहरुको सेवा र धर्मकार्यमा समर्पित छ।

७. लामा कर्म रेजुङ योल्मोपाको बहुआयामिक नेतृत्वको मूल्याङ्कन

इतिहासको कसीमा राखेर हेर्दा लामा कर्म रेजुङ योल्मोपा रिन्पोछेको व्यक्तित्व र कृतित्वलाई केवल एक गुम्बाको प्रमुख लामाको रूपमा मात्र हेर्नु अपूरो हुन्छ। उहाँका योगदानहरूलाई देहायका चार प्रमुख आयामबाट मूल्याङ्कन गर्न सकिन्छ ।

१. ऐतिहासिक सेतु निर्माता (Bridge Builder):

सन् १७९२ मा दशौँ श्यामारपाको परिनिर्वाणपछि चिसिएको र टुटेको २१० वर्ष पुरानो कर्मापा- श्यामारपा र देव ङ्येतोङ वंशको सम्बन्धलाई सन् २००० मा पुनर्जीवित गरेर उहाँले इतिहासको एउटा ठूलो रिक्तता पूर्ति गर्नुभयो।

२. संस्थागत सुधारक (Institutional Reformer):

सन् १९७८ मा योल्मो कानिङ सेडुप लिङ गुम्बाको जीर्णोद्धार गर्नु र वि.सं. २०४३ मा ‘योल्मो काग्यु साङङाग लाछोग’ स्थापना गर्नुले उहाँको आधुनिक सांगठनिक चेतनालाई दर्शाउँछ। उहाँले धर्मलाई व्यक्तिगत साधनामा मात्र सीमित नराखी सामुदायिक संस्थागत संरचनामा ढाल्नुभयो।

३. सांस्कृतिक पहिचानका संवाहक:

योल्मो समुदायको विशिष्ट भाषा, भेषभूषा, र यारलुङ राजवंशसँग जोडिएको मौलिक ‘कानिङ’ परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च (विशेषगरी भारतको बोधगया) मा स्थापित गरी उहाँले योल्मो जातिको स्वाभिमान उँचो बनाउनुभयो।

४. पुस्तान्तरणका मार्गदर्शक:

आफूले सुरु गरेको बोधगया यात्रा र गुरु परम्पराको सेवालाई आफ्नो पुस्तामा मात्र सीमित नराखी पछिल्ला गद्दीधारी लामाहरू (विशेषगरी पाँचौँ प्रमुख लामा पेमा दोर्जे र छैटौँ प्रमुख लामा आचार्य दावा साङ्बो योल्मोपा) मा सफलतापूर्वक हस्तान्तरण गर्नु उहाँको कुशल नेतृत्वको प्रमाण हो।

८. भावी कार्यदिशा

महाविहार, बौद्ध अध्ययन केन्द्र र संग्रहालय निर्माण लामा कर्म रेजुङ रिन्पोछेले देखाउनुभएको मार्गमा हिँड्दै आज योल्मो कानिङ सेडुप लिङ गुम्बा एक नयाँ युगतर्फ लम्किरहेको छ। वि.सं. २०७२ (सन् २०१५) को विनाशकारी भूकम्प र समयको प्रभावका कारण क्षतिग्रस्त भएको गुम्बाको ऐतिहासिक संरचनालाई पुनः निर्माण गरी यसलाई एक बृहत् आध्यात्मिक एवं शैक्षिक केन्द्रका रूपमा विकास गर्ने गुरुयोजना अघि सारिएको छ।

यस गुरुयोजना अन्तर्गत:

– कर्मपा श्यमारनाक डिन्सा: योल्मो भेगमा पहिलोपटक कर्मापा र श्यमारपाको आवास रहने गुम्बा निर्माण परियोजना छ।
– परम्परागत गुम्बा निर्माण: योल्मोको मौलिक वास्तुकला झल्किने गरी भूकम्प प्रतिरोधी मुख्य गुम्बा भवनको पुनर्निर्माण।
– बौद्ध अध्ययन केन्द्र (Monastic College / Shedra): आगामी पुस्ताका योल्मो युवा लामाहरूलाई गाउँमै बसेर काग्यु र निङमा दर्शन, तन्त्र, व्याकरण र आधुनिक शिक्षाको गहन अध्ययन गर्ने अवसर प्रदान गर्न आवासीय बौद्ध महाविद्यालयको सञ्चालन।
– ऐतिहासिक संग्रहालय (Museum): गोछाङलिङ र योल्मो कानिङ सेडुप लिङ गुम्बासँग जोडिएका मल्लकालीन तथा शाहकालीन लालमोहर, ताम्रपत्र, प्राचीन पाण्डुलिपि, मूर्ति र देव ङ्येतोङ वंशका ऐतिहासिक निधिहरूलाई सुरक्षित राख्न एक आधुनिक संग्रहालयको स्थापना।

यी भावी योजनाहरूको सफलताले लामा कर्म रेजुङ रिन्पोछेको सपनालाई अझ सार्थक बनाउनेछ र योल्मो क्षेत्रलाई विश्वभरका बौद्ध अध्येता एवं तीर्थयात्रीहरूका लागि एक प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नेछ।

१४ औँ श्यामार रिन्पोछेको महापरिनिर्वाण र कुदुङको स्थापना

सन् २०१४ मा १४ औँ श्यामार रिन्पोछे मिफाम छोकी लोड्रोको महापरिनिर्वाणले काग्यु परम्परा, योल्मो समुदाय र समग्र हिमाली बौद्ध जगत्मा एक अपूरणीय क्षति पुऱ्यायो।

उहाँको स्मृतिमा योल्मो कानिङ सेडुप लिङ गुम्बा परिसर भित्र पवित्र अस्थिधातु (कुदुङ) प्रतिस्थापन १० औँ श्यामारपाको स्मृतिमा रहेको ऐतिहासिक ‘रातो चैत्य’ काठमाडौँको स्वयम्भू महाचैत्य परिसर (अजिमा मन्दिर पछाडि) परिसरमा रहेको १०औ श्यामार रिन्पोछेको स्मृतिको रातो चैत्य ठीक त्यस्तै चैत्य स्थापनाले यसले दुवै गुरुहरूप्रति उच्च श्रद्धा र ऐतिहासिक सम्बन्धलाई अमर बनाएको छ। जसलाई काठमाडौं महानगरपालिकाले शुभकामना व्यक्त गरेको थियो।

१७औ ग्याल्वा कर्मपा थाई दोर्जेको साथ र आशीर्वाद

यसै आध्यात्मिक शृङ्खला र परम्परालाई निरन्तरता दिने क्रममा, वर्तमान समयमा कर्मा थिनलेज्यूले परम पावन १७ औँ ग्याल्वा कर्मापा (थाई दोर्जे) को विशेष साथ, मार्गदर्शन र आशीर्वाद दिँदै आउनुभएको छ। यस प्रकारको उच्च गुरुहरूको सान्निध्य र आशीर्वादले योल्मो कानिङ सेडुप लिङ गुम्बा र देव ङ्येतोङ वंशको ऐतिहासिक विरासतलाई थप मजबुत बनाउँदै अगाडि बढ्न प्रेरणा प्रदान गरेको छ।

अन्त्यमा
योल्मो कानिङ सेडुप लिङ गुम्बाको इतिहास केवल ईंटा, ढुङ्गा र काठले बनेको एउटा धार्मिक संरचनाको कथा होइन; यो त हिमालयको काखमा शताब्दीयौँदेखि अविच्छिन्न बगिरहेको आध्यात्मिक चेतना, वंशीय गौरव र गुरु-शिष्य समर्पणको जीवन्त गाथा हो। सन् १८४० मा रिग्सङ ग्याल्पो योल्मोपा रिन्पोछेद्वारा रोपिएको यो ‘कानिङ’ परम्पराको बिरुवा सन् १७९२ देखि २००० सम्म कर्मापा र श्यामारपाको मूल प्रवाहबाट प्रत्यक्ष रूपमा अलग रहँदा पनि योल्मोका लामाहरूको निष्ठाका कारण जीवित रह्यो।

इतिहासको त्यो २१० वर्ष लामो विच्छेदलाई चिर्दै योल्मो समुदाय र देव ङ्येतोङ वंशलाई पुनः विश्व काग्यु परिवारको मूलधारमा जोड्ने ऐतिहासिक श्रेय गुम्बाका चौथो गद्दीधारी प्रमुख लामा परम पूजनीय कर्म रेजुङ ह्योल्मोपा रिन्पोछेलाई जान्छ। परम पूजनीय लोपोन कुश्योग रिन्पोछेको आशीर्वाद र मार्गदर्शनमा वि.सं. २०५७ कार्तिक ७ गते १४ औँ श्यामार रिन्पोछेसँगको दर्शन भेटदेखि बोधगयाको ‘’काग्यु मोलम चेन्मो – २०००’’ सम्मको उहाँको यात्राले योल्मोको इतिहासमा नयाँ युगको सूत्रपात गऱ्याे। आज १७ औँ ग्याल्वा कर्मापा र १४ औँ श्यामारपाको नेतृत्वमा हुने काग्यु मोलम चेन्मोमा योल्मो कानिङ सेडुप लिङ गुम्बाको गौरवपूर्ण उपस्थिति र आयोजक तहसम्मको पहुँचले लामा कर्म रेजुङ रिन्पोछेको दूरदर्शितालाई प्रमाणित गर्दछ। आज उहाँकै कारण काग्यू मोलम योल्मो समुदायको लागि मात्र नभई योल्मो भेगमा बसोबास गर्ने अन्य तामाङ , शेर्पा लगायत अन्य समुदायहरुको लागि पनि साझा थलो बनेको छ। निस्सन्देह, उहाँ योल्मो बौद्ध इतिहासको पुनर्जागरणका एक अद्वितीय नायक हुनुहुन्छ, जसको कीर्ति हिमालय रहेसम्म अमर रहनेछ।

सन्दर्भ सामग्री (References)
१. योल्मो कानिङ सेडुप लिङ गुम्बाको आधिकारिक अभिलेख: गुम्बाको परिचय, ऐतिहासिक पृष्ठभूमि र लक्ष्यहरू, पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोक (yolmomonastery.org)।
२. देव ङ्येतोङ (सरमा लामा) वंश र योल्मो काग्यु साङङाग लाछोग अभिलेख: योल्मो क्षेत्रका काग्युपा धर्मगुरु देव ङ्येतोङ वंशज र कर्मापा-श्यामारपासँगको ऐतिहासिक सम्बन्ध (वि.सं. २०४३–२०५७)।
३. बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति अभिलेख: दर्ता नं. २०७ अन्तर्गतका गुठी तथा ऐतिहासिक दस्तावेजहरू, ललितपुर, नेपाल।
४. लोपोन चेचु रिन्पोछे जीवनी तथा योगदान: Lopon Tsechu Rinpoche (1918–2003): Himalayan Buddhist Master and Protector of Monasteries, Diamond Way Buddhism & Sangye Choeling Monastery Archives, Kathmandu.
५. योल्मो सम्पदा अध्ययन: yolmo Heritage and Beyul Traditions, Kathmandu: yolmo Heritage Foundation.
६. काग्यु मोलम चेन्मो अभिलेख: Kagyu Monlam Chenmo International Proceedings (2000–2019), Bodhgaya, India.
७. पूजनीय दुङजीम रिन्पोछे आचार्य छैटौँ प्रमुख लामा आचार्य दावा साङ्बो योल्मोपा ज्युको सुझाव सल्लाह र निर्देशन अनुसार यो तयार गरिएको छ।
८. अमृतमय बुद्ध वाचन – आचार्य दावा साङ्बो योल्मोपा ज्यु प्रकाशन

लेखन तथा संकलन – आचार्य विजय पौड्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *