काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने स्पष्ट पारेकी छन् ।
सामाजिक सञ्जालमा घाइतेहरूको उपचारबारे व्यक्त भइरहेका चासो र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्री मेहताले घाइते शान्तनु ढकालको त्रिवि शिक्षण अस्पतालमा भइरहेको शल्यक्रियाबारे आफू निरन्तर जानकार रहेको बताएकी हुन् ।
उनले घाइतेहरूको उपचार प्रचलित कानुनी व्यवस्थाअनुसार भइरहेको र उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने व्यवस्था रहेको उल्लेख गरेकी छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत आवश्यक भुक्तानी तथा सोधभर्नाको प्रक्रिया अघि बढाइने उनको भनाइ छ । कुनै पनि घाइते आर्थिक अभावका कारण आवश्यक उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री मेहताले थप उपचारका लागि भारत पठाउनुपर्ने केही घाइतेको उपचार व्यवस्थापनका लागि पनि प्रक्रिया अघि बढिरहेको जानकारी दिएकी छन् ।
यसका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उल्लेख गर्दै उनले घाइतेहरूको उपचार र शीघ्र स्वास्थ्यलाभ सरकारको प्राथमिकतामा रहेको बताएकी छन् । मन्त्री मेहताले शान्तनु ढकालसहित उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जेनजी आन्दोलनका क्रममा उनीहरूले देखाएको साहस र योगदानप्रति सम्मान व्यक्त गरेकी छन् ।
