बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो ।

दिउँसो २ बजे भएको दुर्घटनामा माइक्रोबसमा सवार सबै १४ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ । घाइते हुनेमा माइक्रोबस चालक धनुषाको शहीदनगर नगरपालिका–८ का दीपककुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानीकुमारी मण्डल तथा शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन् ।

त्यस्तै, ललितपुरको भैँसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह पनि घाइते भएका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली उद्धारमा खटिएको थियो । अन्य पाँच जना घाइतेको पहिचान खुलाउने काम भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *