सत्तामा पुगेपछि रास्वपालाई आफ्नै प्रश्नको सामना, विदेश भ्रमणले बढायो असन्तुष्टि

काठमाडौँ । निर्वाचनमा झण्डै दुई तिहाईको बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले गत चैत १३ गतेदेखि सत्ता संचालन गरिरहेको छ । यस्तो बलियो सरकार चलाइरहेको पार्टीकाबारेमा कुनै समाचार लेख्यो भने त्यस दलका नेता र सांसद पत्रकारहरुलाई पत्रकारिता पढाउन थाल्छन् । उनीहरु लेख्छन्, ‘विश्वविद्यालय÷कलेजमा ’पत्रकारिता किन अविश्वसनीय बन्दो छ ? पत्रकारकै कारणले हो ।’

कसैले चाहिँ पत्रकारितालाई हनुमानकारिता भन्दै उडाउने गर्छन् । अरुले गर्दा त बुझेका छैनन् स्वाभाविक नै हो भन्न पनि सकिएला । तर जो हिजो आफू पत्रकारिता गरेरै अहिले सांसद भएकाहरुसमेत पत्रकारितालाई अनेक संज्ञा दिँदै लेख्छन्, ‘हनुमानकारिताबाहेक यहाँ अर्को खालको पत्रकारिता पनि हुन्छ, जसलाई ‘अनुमानकारिता’ भन्दा फरक पर्दैन । कसैले फ्याट्ट के भन्दियो, पत्याइहाल्यो । फ्याक्ट चेक कसले गरिरहोस्, भेरिफिकेसनको दुःख कसले गरिरहोस् । कुर्सीमा बस्यो, अनुमान गर्दै लेख्न थाल्यो, शब्दजाल घुमायो–पोष्ट गरिदियो । यिनलाई समाचारको श्रोत पनि चाहिदैन । ’गोप्य श्रोतका अनुसार’ भन्दिए पुग्छ ।’

विचौलियाकोरुपमा चिनाइएका इनम सापकोटाले गगन थापाको नाम लिएको भन्दै बजारमा एउटा अडियो आउँछ । गगन थापाले यसबारेमा आफू जुनसुकै अनुसन्धानका लागि तयार छु भनी स्पष्टीकरण दिन्छन् । तर रास्वपाका सांसद गगन थापा अपराधी नै हो जसरी सामाजिक संजालमा लेख्छन् । तर जब इनम सापकोटाको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको घरमा लगेर आफ्ना स्टाटस डिलिट गरेको र इनमको मोबाइल खोज्न प्रधानमन्त्रीको सचिवालयका मान्छे प्रहरी कार्यालय पुगेको भिडियो सार्वजनिक हुन्छ तब रास्वपाका नेता तथा सांसद चुइँक्क बोल्दैनन् ।

यी त भए रास्वपाका नेताहरुले पत्रकारिता सिकाएका कुरा र उनीहरुको चरित्रका । तर यहाँ भने रास्वपाका नेताले पत्रकारलाई आलोचना गर्नै नपर्ने विषयको कुरा गर्न लागिएको छ । टर्कीमा आयोजना भइरहेको कोप ३१ सम्मेलनमा होस् वा मलेसियामा भएको एसियाली महिला सांसद ककसमा होस् सांसद र मन्त्रीको लर्को नै लागेको छ । त्यस्तै आइतबारदेखि सत्तारुढ रास्वपाका २० सांसद चीन भ्रमणमा छन् । सांसद र मन्त्रीहरुको विदेश भ्रमणलाई लिएर यतिबेला रास्वपाका सांसदहरु विरोधमा उत्रिएका छन् । राज्यकोषबाट हुने विदेश भ्रमणको औचित्य, पारदर्शिता र त्यसबाट प्राप्त हुने उपलब्धिबारे पार्टीका नेता तथा सांसदहरूले सार्वजनिक रूपमै प्रश्न उठाएका हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपाली सांसद तथा अन्य प्रतिनिधिहरू टर्की पुगेका बेला रास्वपाभित्रैबाट विदेश भ्रमणको खर्च र उद्देश्यबारे बहस सुरु भएको हो । रास्वपाका नेताहरुले पार्टीभित्र कुने मतभेद छैन भनेपनि यस घटनाले मतभेद र उकुसमुकुकस भएको पुष्टि गर्छ ।

मन्त्री र सांसदहरुको विदेश भ्रमणलाई लिएर रास्वपाका सांसदहरु कसले के भने ? ल हेर्नुस्ः

गणेश कार्की

कोपमा जानेहरू दर्जनौँ हुन्छन् । साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन् । हामी वातावरणका विद्यार्थीहरु कोपकाबारेमा यति धेरै पढ्छौँ कि एकपल्ट गएर हेरौँ भन्ने चै हुन्छ । देख्न पाइने र सिक्न पाइने कुरा असाध्यै धेरै हुन्छ कोपमा । तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइदैन । अनि अहिलेको समयमा निर्णय वा छलफलको प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने हो भने त नजादैमा देख्न र बुझ्न नपाइने होइन । सधैँझैँ यसपाली पनि कोपमा जानेहरुको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरु कोपका लागि टर्की पुगेको, पुग्दै गरेको देख्छु । जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिकरूपमा घोषणा गरुन् । गर्नैपर्छ ।’

आशिका तामाङ

राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ ?? जनताले थाहा पाउने त पर ो कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरु के का लागि विदेश जानू भो भनेर ! सांसदहरू विभिन्न समितिभित्र हुनुहुन्छ, आफ्नो आफ्नो समितिबाट विदेश भ्रमणमा सुटुक्क जानुहुन्छ र सुटुक्क आउनु हुन्छ । तर आफ्नै समिति भित्रका सदस्यहरूले समेत कसैले पनि थाहा पत्तो पाएका हुँदैनन् । विदेश भ्रमण केका लागि गइन्छ ? राज्यको लाखौं खर्च गरेर गरिएको विदेश भ्रमणबाट जनता र सांसदले पाउने उपलब्धि के हो? सोको स्पष्टता जनता सामु आउनु पर्छ होइन भने उही समुद्रको तटस्थलमा गएर फोटो खिच्नु र टिकटक बनाउनु मात्र हो भन्ने कुरा सांसदज्यूहरूको सामाजिक सञ्जालको अपडेटबाट थाहा हुन्छ। धन्यवाद !’

राजु पाण्डे

जिम्मेवारी/कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ… अचम्म ! लाज पनि लजायो कि ! कुरीकुरी ! जय मातृभूमि नेपाल ।

ज्वाला संग्रौला

विदेश भ्रमणमा राज्यकोषको दुरुपयोग हुन नहुने र भ्रमणको औचित्य पुष्टि हुनुपर्ने विषयमा रास्वपाभित्रैबाट प्रश्न उठ्नुलाई सकारात्मक र सही सुझावको रुपमा ग्रहण गरिदिनु भएकोमा पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीज्यूलाई धन्यबाद छ। हाम्रो विरोध होइन, भ्रमण अर्थहीन र घुमघाममा मात्रै सीमित नहोस् र यस्ता भ्रमणमा देशको ढुकुटी दोहन नहोस् भन्ने मात्रै हो । देशको आर्थिक अवस्था खस्किरहेको बेला गरिब जनताले राज्यलाई तिरेको करबाट हामीले लाभ लिनु हुन्न भन्ने सन्देश आमजनतामा पुर्याउन आवश्यक छ । यो देशमा सबैले बिगारे, अब रबि बालेन आउनु पर्यो भनेर जनताले हामीलाई चुनेर पठाएका छन् । जनताको मतको कदर गरौं ! राम्रो गरौं, राम्रै हुन्छ। विदेश भ्रमण टोलीलाई शुभकामना !’

निशा डाँगी

विदेश भ्रमणमा कति जना गए भन्ने भन्दा पनि भ्रमण पछि देशले के उपलब्धि हासिल गर्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । भ्रमणको औचित्य संख्या होइन, त्यसबाट प्राप्त उपलब्धि, देशलाई भएको लाभ र जनताले पाएको प्रतिफलले पुष्टि गर्नुपर्छ।

समग्र घटनाक्रमले रास्वपाभित्र एउटा गम्भीर विरोधाभास देखाएको छ । हिजो पुराना दलका नेताहरूको विदेश भ्रमण, राज्यकोषको दोहन र अपारदर्शी कार्यशैलीमाथि प्रश्न उठाउने रास्वपा आज आफैँ सत्तामा पुगेपछि त्यही प्रश्नको घेरामा परेको छ । रास्वपाले बुझ्नुपर्ने कुरा के हो भने जनताले नयाँ अनुहार मात्र खोजेका थिएनन्, पुरानो राजनीतिक प्रवृत्तिको अन्त्य पनि चाहेका थिए।जनताले खोजेको विदेश भ्रमण नगर्ने सरकार होइन, विदेश भ्रमणको हिसाब दिने सरकार हो । जनताले खोजेको आलोचना नहुने राजनीति होइन, आलोचना सुन्न र जवाफ दिन सक्ने नेतृत्व हो । चुनावमा पाएको बहुमत प्रश्नबाट उन्मुक्ति पाउने लाइसेन्स होइन, जवाफदेहिता अझ बढी वहन गर्ने जनादेश हो । रास्वपाले यो कुरा जति छिटो बुझ्छ, उसकै राजनीतिक भविष्यका लागि त्यति राम्रो हुनेछ। नत्र परिवर्तनको आशा बोकेर मत दिएका जनताले पनि भोलि यही प्रश्न गर्नेछन्—नयाँ भनिएका पात्र आए, तर राजनीति गर्ने पुरानै शैली किन दोहोरियो ? बोलौँ रास्वपाका अरु सांसद पनि । तपाईँ यी पाँच सांसदको पक्षमा कि विपक्षमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *