एनभिडियाले जेन्सन हुआङलाई सीईओमा नफर्काउने

रोयटर्स । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुनः नेतृत्वमा फर्काउने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

कम्पनीको सञ्चालक समितिले हुआङलाई पुनः सीईओ बनाउने विषयमा विचार नगरेको स्रोतहरूलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । कर्मचारीसँगको व्यक्तिगत सम्बन्ध र चिनियाँ गुप्तचर निकायसँग सम्भावित सम्बन्धको विषय सार्वजनिक भएपछि हुआङले पदबाट राजीनामा दिएका थिए ।

हुआङलाई पुनः सीईओ बनाउन माग गर्दै सञ्चालन गरिएको अनलाइन अभियानमा एक लाख ८० हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् । अमेरिकी अर्बपति एलन मस्कले पनि उक्त अभियानलाई समर्थन गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हुआङ पुनः सीईओ बने आफूलाई आपत्ति नहुने बताएका छन् ।

एनभिडियाका हजारौँ कर्मचारीले पनि उनको पुनरागमनको मागलाई समर्थन गरेका छन् । यसले कम्पनीका कर्मचारी, लगानीकर्ता र प्रविधि क्षेत्रका व्यक्तिहरूबीच उनको नेतृत्वलाई लिएर चासो बढाएको छ । यद्यपि, अनुसन्धान पूरा नहुँदै उनलाई पुनः जिम्मेवारीमा फर्काउँदा कम्पनीलाई थप जोखिम हुन सक्ने भन्दै केही लगानीकर्ता र कर्पोरेट सुशासनका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

हुआङले चिनियाँ व्यवसायी महिला एलिस हुआङसँग व्यक्तिगत सम्बन्ध रहेको स्वीकार गरेका थिए । अमेरिकी गुप्तचर निकायहरूले एलिसको चीनको राज्य सुरक्षा मन्त्रालयसँगको सम्बन्ध र उनले बेइजिङलाई कुनै सूचना उपलब्ध गराएको वा नगराएको विषयमा अनुसन्धान गरिरहेका छन् ।

अनुसन्धानसँग परिचित दुई स्रोतका अनुसार हालसम्म प्राप्त प्रमाणले एलिस पूर्ण रूपमा प्रशिक्षित गुप्तचरभन्दा पनि सूचना उपलब्ध गराउने सम्भावित गुप्तचर स्रोतका रूपमा रहेको संकेत गरेको छ ।

यसैबीच, हुआङको भविष्यबारे अनिश्चितताले कम्पनीको नयाँ नेतृत्व चयन प्रक्रियालाई समेत प्रभावित पारेको छ । केही प्रमुख लगानीकर्ताले अनुसन्धानबाट सबै तथ्य सार्वजनिक नभएसम्म नयाँ सीईओ नियुक्तिमा हतार नगर्न सुझाव दिएका छन् ।

सोमबार एनभिडियाको सेयर मूल्य चार प्रतिशतभन्दा बढीले घटेको छ । कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुभन्दा एक दिनअघि सेयरमा गिरावट आएको हो ।

हुआङको व्यक्तिगत सम्बन्धबारे समाचार सार्वजनिक भएयता एनभिडियाको बजार पुँजीकरण करिब आठ खर्ब अमेरिकी डलरले घटेको रोयटर्सले जनाएको छ । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १५.५९ बाट घटेर ११.५४ पुगेको छ । यो न्यास्डाक कम्पोजिटको औसत २०.८ भन्दा कम हो ।

हुआङको समर्थनमा ताइवानको अग्लो भवन ताइपेई १०१ मा सोमबार ‘ताइवान लभ्स जेन्सन’ लगायतका सन्देशसमेत प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *