काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल बेलुकी ५ बजे शुरु हुनेछ ।
प्लेअफ समीकरणको लागि आजको दुवै खले निकै महत्तवपूर्ण रहेका छन् । काठमाडौं र सुदूरपश्चिम आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहन्छन् । हाल काठमाडौं ५ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने एक खेल बढि खेलेको सुदूरपश्चिम समान ८ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको काठमाडौंले त्यसअछि कर्णालीलाई ४ विकेट, विराटनगरलाई ९ विकेट, लुम्बिनीलाई ३६ रन र चितवनलाई १० रनले हराउँदै उत्कृष्ट पुनरागमन गरेको थियो । उच्च लयमा रहेको काठमाडौं आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।
यता सुदूरपश्चिमले पनि ६ खेलमा चार जित र दुई हारको नतिजा निकाल्दै उपाधिमा दावेदारी प्रस्तुत गरिरहेको छ । पहिलो खेलमा साविक विजेता लुम्बिनीसँग ७ विकेटले पराजित भएको लुम्बिनीले दोस्रो खेलमा पोखरालाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा विराटनगर किंग्ससँग ३५ रनले पराजित सुदूरपश्चिमले त्यसपछिको तीन खेलमा सतप्रतिशत जित निकालेको थियो । त्यसक्रममा सुदूरपश्चिमले चितवनलाई ५ विकेट, कर्णालीलाई ३९ रन र जनकपुरलिई २७ रनले हराएको थियो ।
आज हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन् । दुवै टोलीका लागि प्लेअफ यात्राको दृष्टिकोणले आजको खेल निकै महत्वपूर्ण रहनेछ ।
चितवन ५ खेलबाट ५ अंक जोड्दै अंकतालिकाको पाँचौँ स्थानमा रहेको छ भने ६ खेल खेलेको जनकपुर ४ अंकसहित छैटौँ स्थानमा छ ।
लिग चरणको अन्तिम खेल खेल्न लागेको जनकपुरलाई प्लेअफको सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ । पराजित भए जनकपुर प्रतियोगिताबाट बाहिरिनेछ भने जित निकालेको खण्डमा प्लेअफको आशा जीवित रहनेछ ।
यता, चितवनका लागि पनि आजको जितले प्लेअफ यात्रा सहज बनाउनेछ । तर, पराजित भए टोलीको प्लेअफ समीकरण थप कठिन बन्नेछ ।
चितवन राइनोजले प्रतियोगिताको सुरुवात विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै गरेको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्ससँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए । तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ५ विकेटले पराजित भएको चितवनले चौथो खेलमा पोखरा एभेन्जर्सलाई ३० रनले हराउँदै पुनरागमन गरेको थियो । तर, पाँचौँ खेलमा काठमाडौं गोर्खाजसँग १० रनले पराजित भएपछि चितवनको प्लेअफ यात्रा केही कठिन बनेको छ ।
यता, जनकपुर बोल्ट्स पनि पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ । कर्णाली याक्ससँग १९ रनले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेट र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले हराएको थियो । तर, त्यसपछिका तीन खेलमा भने जनकपुरले लगातार हार बेहोरेको छ । विराटनगर किंग्ससँग २ रन, लुम्बिनी लायन्ससँग १६ रन र सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित भएको जनकपुर आजको खेलमा जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।
