भैरहवा । रुपन्देहीमा देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले बुधबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले परम्परागत देउसी–भैलो कार्यक्रममा मौलिक कला, संस्कृति र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने गरी अमर्यादित नृत्य, गीत तथा संगीत प्रदर्शन नगर्न आग्रह गरेको छ। यस्तो गतिविधि गरे प्रचलित कानुनअनुसार कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।
