डा. केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न चिकित्सक संघको अल्टिमेटम

काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएको छ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षाका लागि तत्काल वार्ता टोली गठन गरी उनले उठाएका माग सम्बोधन गर्न सरकारसँग माग गरेको हो।

डा. केसी कात्तिक १२ गतेदेखि २५औँ आमरण अनशनमा छन्। अनशनको नौ दिन बितिसक्दा पनि सरकारले उनका माग सम्बोधन नगरेको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अनशनका कारण केसीको स्वास्थ्यमा जटिल समस्या देखिन थालेको संघले जनाएको छ। उनको जीवन रक्षाका लागि सरकारले अविलम्ब पहल गर्नुपर्ने संघको माग छ।

यस विषयमा शुक्रबार नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक समाजका प्रतिनिधि, अस्पताल निर्देशक, आवासीय चिकित्सक तथा अन्य चिकित्सकहरूको बैठक बसेर छलफल गरिएको थियो।

संघले डा. केसीका माग सम्बोधन गरी अनशन अन्त्य गर्ने वातावरण बनाउन सरकारसँग पुनः जोडदार माग गरेको छ।

४८ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने संघले चेतावनी दिएको छ। त्यसबाट सर्वसाधारण नागरिकको स्वास्थ्य सेवामा पर्न सक्ने असरको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *