हङकङ। हङकङको लोकतन्त्र आन्दोलनका चर्चित अनुहार जोसुवा वङलाई विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ। हङकङमा सन् २०२० मा लागू गरिएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत उनलाई बिहीबार उक्त सजाय सुनाइएको हो।
एक समय हङकङको लोकतन्त्र आन्दोलनको नेतृत्वदायी अनुहारका रूपमा स्थापित ३० वर्षीय वङ पछिल्लो समयसम्म पनि जेलमै थिए। उनले यसअघि नै करिब ६ वर्ष जेल जीवन बिताइसकेका छन्।
आगामी जनवरीमा रिहा हुने अपेक्षा गरिएका उनलाई नयाँ अभियोगमा थप १० वर्ष जेल सजाय सुनाइएको हो। यद्यपि, नयाँ सजायको दुई महिना दुई दिन भने यसअघिको सजायसँगै गणना हुने अदालतले जनाएको छ।
अभियोजन पक्षका अनुसार वङले स्वनिर्वासनमा रहेका लोकतन्त्रवादी अभियन्ता नेथन लसहित अन्य अभियानकर्मीसँग मिलेर चीनविरुद्ध विदेशी प्रतिबन्ध र नाकाबन्दी लगाउन अन्तर्राष्ट्रिय समुदायसमक्ष लबिङ गरेका थिए।
सन् २०२० को जुलाईदेखि नोभेम्बरको अन्त्यसम्म भएका यस्ता गतिविधिलाई विदेशी शक्तिसँगको साँठगाँठका रूपमा अभियोग लगाइएको थियो। वङले गत सेप्टेम्बरमै उक्त अभियोग स्वीकार गरेका थिए। वङ र नेथन लसहितका अभियन्ता सन् २०१६ मा स्थापना भएको र पछि विघटन भएको लोकतन्त्रवादी राजनीतिक दल डेमोसिस्टोका सहसंस्थापक थिए।
बिहीबार अदालतमा उपस्थित हुँदा वङले गाढा नीलो लामो बाहुलाको सर्ट, खाकी रङको ट्राउजर र कालो फ्रेमको चस्मा लगाएका थिए। अघिल्ला सार्वजनिक उपस्थितिको तुलनामा उनी केही दुब्लो देखिएका थिए। अदालतको खचाखच भरिएको सार्वजनिक दर्शकदीर्घामा उपस्थित मानिसहरूलाई उनले अभिवादन गरेका थिए।
न्यायाधीशले सजाय सुनाउने क्रममा उनी बीचबीचमा टिपोट गरिरहेका थिए। अदालतबाहिर पनि वङको समर्थनमा ठूलो संख्यामा मानिसहरू भेला भएका थिए। सार्वजनिक सुनुवाइ हेर्न दर्जनौँ हङकङवासी घण्टौँसम्म लाइनमा बसेका थिए। अदालत परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। वङको सजायप्रति अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले कडा आलोचना गरेका छन्।
ह्युमन राइट्स वाचले यसलाई ‘क्रूर र अन्यायपूर्ण’ सजाय भन्दै टिप्पणी गरेको छ। संस्थाकी एसिया निर्देशक इलेन पियर्सनले लोकतन्त्रवादी नेताहरूलाई निरन्तर अभियोग थप्दै जेलमा राख्ने रणनीति हङकङ सरकारले अपनाएको आरोप लगाएकी छन्।
उनका अनुसार अन्तर्राष्ट्रिय समुदायको सम्भावित विरोध कम गर्ने र हङकङको समाजलाई नियन्त्रणमा राख्ने उद्देश्यले प्रभावशाली लोकतन्त्रवादी नेताहरूलाई लक्षित गरिएको देखिन्छ। अमेरिकामा बस्दै आएकी वङकी साथी तथा सहकर्मी अभियन्ता फ्रान्सिस हुईले फैसलाप्रति दुःख र आक्रोश व्यक्त गरेकी छन्।
उनले यो फैसला जोसुवा वङमाथिको कारबाहीमा मात्र सीमित नभई हङकङको भविष्य निर्माण गर्न चाहने एउटा पुस्ताको योगदान र इतिहास मेटाउने व्यापक राजनीतिक दमनको हिस्सा भएको टिप्पणी गरेकी छन्। हङकङमा सन् २०२० मा राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि लोकतन्त्र समर्थक नेता, अभियन्ता, पत्रकार तथा सर्वसाधारणसहित सयौँ व्यक्ति पक्राउ परिसकेका छन्।
सन् २०१९ मा बेइजिङको बढ्दो नियन्त्रणविरुद्ध भएको विशाल लोकतन्त्र समर्थक आन्दोलनपछि चीनले उक्त कानुन लागू गरेको थियो। उक्त कानुनले अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक असहमतिलाई दबाएको भन्दै आलोचना हुँदै आएको छ।
तर हङकङ प्रशासनले भने शान्ति, स्थिरता र राष्ट्रिय सुरक्षाका लागि कानुन आवश्यक रहेको दाबी गर्दै आएको छ। साथै, यसले हङकङको स्वायत्तता कमजोर नबनाएको सरकारी पक्षको तर्क छ। यसअघि यही कानुनअन्तर्गत विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा हङकङका पूर्वमिडिया व्यवसायी जिम्मी लाइलाई २० वर्षको जेल सजाय सुनाइएको थियो।
राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा कडा सजाय हो। जोसुवा वङको पछिल्लो सजायले हङकङमा लोकतन्त्र, नागरिक स्वतन्त्रता र चीनको बढ्दो राजनीतिक नियन्त्रणबीचको संघर्षलाई फेरि अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।
