लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि हुने हस्तक्षेपविरुद्ध प्रतिवाद गर्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार विशेष सम्बोधन गर्दै सभापति थापाले समाचार प्रकाशनकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताविपरीत भएको बताएका हुन् ।

सभापति थापाले पछिल्लो घटनाक्रमले सरकारको कार्यशैलीमाथि गम्भीर आशङ्का पैदा गरेको बताए । विशेषगरी प्रधानमन्त्रीको सचिवालय र प्रहरीबाट आएका परस्पर विरोधी अभिव्यक्तिले घटनालाई थप रहस्यमय बनाएको उनको भनाइ छ ।

सभापति थापाले सुरुमा पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले अनभिज्ञता जनाएको, त्यसपछि प्रहरीबाट प्रधानमन्त्री कार्यालयको चासोका आधारमा पक्राउ गरिएको भनिएको र अन्ततः सचिवालयको वक्तव्यसमेत हटाइएको घटनाक्रम सुनाए ।

प्रधानमन्त्रीको सचिवालयबाट २८ जना पत्रकारको सूची तयार पारेर प्रहरीलाई पठाइएको विषय सार्वजनिक हुनु झनै गम्भीर भएको उनले बताए ।
पत्रकार पक्राउ परेर रिहा भइसकेपछि पनि यो प्रकरण समाप्त नहुने उल्लेख गर्दै थापाले राज्यशक्तिको दुरुपयोग र नागरिक अधिकारमाथिको हस्तक्षेपबारे जवाफदेहिता आवश्यक रहेको बताए ।

उनले सरकारको निर्णय प्रक्रियामा सामाजिक सञ्जालको प्रतिक्रिया र सत्तामा रहेका व्यक्तिको व्यक्तिगत इच्छाले प्रभाव पार्न थालेको आरोप लगाए । प्रहरी प्रशासनलाई कसैको व्यक्तिगत आदेश वा लोकप्रियताको उतारचढावका आधारमा परिचालन गर्नु राज्य सञ्चालनको उचित विधि नभएको उनको टिप्पणी थियो ।

‘सरकारमा बसेका व्यक्तिहरूले आफ्नो इच्छा नै कानुन हो भन्ने ठान्न थालेपछि समस्या सुरु हुन्छ,’ सभापति थापाले भने । सरकारले राज्यका निकायलाई स्वेच्छाचारी ढङ्गले प्रयोग गर्न खोजेको आरोप लगाउँदै उनले यस्तो प्रवृत्तिलाई सामान्य घटनाका रूपमा स्वीकार गर्न नसकिने बताए । लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि हुने हस्तक्षेपविरुद्ध कांग्रेसले राजनीतिक तथा संस्थागत रूपमा प्रतिवाद गर्ने उनको चेतावनी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *