काठमाडौँ । नेपाल प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सोधपुछका लागि पत्रकारहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं एआइजी अभिनारायण काफ्लेले प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सोधपुछका लागि पत्रकारहरुलाई नियन्त्रणमा लिएको ह्वाटस्एप ग्रुपमा जानकारी गराएका हुन् ।
पत्रकार पक्राउको चौतर्फी विरोध भएपछि प्रहरीले केही घण्टामा छाडेको थियो भने प्रधानमन्त्री कार्यालयले आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएको थियो ।
प्रहरी प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो ।’
यस्तो छ प्रहरी प्रवक्ताको भनाई
हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो। यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ। राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ ।
