एनपीएलमा जनकपुरको पहिलो जित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले लिगमा पहिलो जित निकालेको हो ।

जितको लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । जनकपुरलाई जित दिलाउन मोइन अलीले अर्धसतक बनाए । एनपीएलमा यो उनको पहिलो अर्धसतक हो । उनले ५१ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए । यस्तै सैफ हसनले ३९ बलमा ३ छक्का र एक चौकाको मद्दतमा नटआउट ४० रन बनाउँदा मयन यादवले ९ र त्रित राज दासले ५ रनको योगदान गरे ।

काठमाडौंको लागि रिपोन मोन्डलले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले १९.३ ओभरमा अलआउट हुँदै १ सय १५ रन बनाएको थियो । काठमाडौंको लागि भिम शार्कीले ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । भीमले २९ बलमा ४ चौका प्रहर गरे । यस्तै रशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्न राहुल यादवले ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै सैफ हसनले ४ ओभरमा ११ रन दिएर २ विकेट लिँदा मोइन अली, हर्मित सिंह र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

जितसँगै जनकपुरले दुई खेलबाट दुई अंक जोडेको छ भने पहिलो खेल खेलेको काठमाडौं अंकविहीन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *