काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेपालको राष्ट्रवाद भारतविरोधमा आधारित थियो र अब त्यो युग समाप्त भएको भन्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सामाजिक संजालमार्फत भट्टराईले अर्थमन्त्रीको अभिव्यक्ति नेपालको स्वाधीनता, सार्वभौमसत्ता र संविधानले अंगीकार गरेको असंलग्न परराष्ट्र नीतिविपरीत रहेको बताएका हुन् । उनले संविधानको धारा ५ मा उल्लेखित राष्ट्रिय हितको व्यवस्थासँग पनि उक्त अभिव्यक्ति जोडेर प्रश्न उठाएका छन्।
उनले भीमसेन थापा र बलभद्र कुँवरदेखि वर्तमान समयसम्म राष्ट्रवादको पक्षमा उभिएका नेपालीहरूको ऐतिहासिक योगदानको अपमान भएको दाबी गरेका छन्। साथै, भारतले जस्तोसुकै व्यवहार गरे पनि नेपालले विरोध नगर्ने सन्देश दिने खालको अभिव्यक्ति भएको भन्दै उनले आलोचना गरेका छन्।
भट्टराईले यस विषयमा सत्तारुढ दल र संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको आधिकारिक धारणा माग गरेका छन्। नेपाली जनताले यसबारे स्पष्ट जवाफ पाउनुपर्ने उनको भनाइ छ।
उनले संवैधानिक सीमा, नेपालको गौरवपूर्ण इतिहास र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा अभिव्यक्ति दिने व्यक्तिको सरकारमा निरन्तरताबारे पनि प्रश्न उठाएका छन्। भट्टराईले राष्ट्रिय स्वाभिमान र राष्ट्रहितका विषयमा नागरिकले गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका छन् ।
