काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केही डाक्टर नेताहरूको अभिव्यक्ति र गतिविधिमाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वाभिमान र नेपाली आत्मविश्वासको विषयमा बहस गर्नुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत झाँक्रीले डा. बाबुराम भट्टराईतर्फ संकेत गर्दै एक डाक्टर नेता लामो समयदेखि नेपालविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाएकी छन् । संविधान जारी भएपछि ती नेता आफ्नै घर छाड्न बाध्य भएको उल्लेख गर्दै उनले संविधान निर्माणमा ती नेताकै प्रस्ताव रहेको दाबीसमेत गरेकी छन्।
उनले ‘७७’ र ‘७’ अंकको प्रसङ्ग उल्लेख गर्दै ती अंकले के संकेत गर्छन् भन्नेबारे विभिन्न षड्यन्त्रका सिद्धान्तहरूले आ–आफ्नै व्याख्या गर्ने गरेको बताएकी छन्।
झाँक्रीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई इंगित गर्दै अर्का डाक्टर पात्रको अभिव्यक्तिमाथि पनि प्रश्न उठाएकी छन् । उनका अनुसार ती व्यक्तिले निरन्तर नेपालविरोधी, नेपाली स्वाभिमानविरोधी र हीनभावना झल्किने अभिव्यक्ति दिइरहेका छन्।
उनले सम्बन्धित व्यक्तिहरूको विगतका अभिव्यक्ति र गतिविधिको अभिलेख केलाउनुपर्ने धारणा राख्दै राजनीतिक क्षेत्रमा यस्ता अन्य पात्रहरू पनि देखिन सक्ने बताएकी छन्।
‘के हामी नेपाल र नेपाली यस्तै गुलाम, लम्पसारवादी पात्रहरूद्वारा शासित हुन अभिशप्त छौँ ?’ भन्दै झाँक्रीले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाउने र राष्ट्रिय आत्मविश्वास कमजोर पार्ने प्रवृत्तिलाई चुपचाप स्वीकार गर्ने कि नगर्ने भन्ने प्रश्न उठाएकी छन्।
