बिहीबारदेखि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार केही स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्नेछ ।
महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । तर, कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म देशका अधिकांश भूभागमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना छ ।

बिहीबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ । यस्तै, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

शुक्रबार देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा वा हिमपात हुन सक्नेछ । मधेश प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसअघि बुधबारदेखि नै देशभर साधारणतया बादल लाग्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ ।

महाशाखाका अनुसार वर्षा र हिमपातका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्छ । यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसहित दैनिक जनजीवनमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्लो सूचनाबारे अद्यावधिक रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *