एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा आर्सनल र बार्सिलोना विजयी हुँदा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । मंगलबार राति भएको खेलमा आर्सनलले लिललाई ३-० गोलले पराजित गरेको हो ।
इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन बुकायो साका, इबेरेची इजे र जुरिएन टिम्बरले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औँ मिनेटमा टिम्बरले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । तीन मिनेटपछि इजेले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।
७१ औँ मिनेटमा साकाले गोल गर्दै घरेलु टोलीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल ३-० गोलले विजयी भएको हो ।
जितसँगै आर्सनल २ खेलबाट ६ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट अंकविहीन लिल ३२ औँ स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा क्याटलान क्लब बार्सिलोनाले गालाटासारेलाई ४-१ गोलले पराजित गरेको हो । रामस पार्कमा भएको खेलमा बार्सिलोनालाई जित दिलाइन जोए कान्सेलो, फेर्मिन लोपेज, एन्थोनी गोर्डन र क्रिम एडेयमीले समान एक/एक गोल गरे ।गालाटासारेको लागि अलेक्सी बाट्राकोभले एक गोल गरे ।
खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली पराजित हुन पुगेको हो । २८ औँ मिनेटमा बाट्राकोभले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
४३ औँ मिनेटमा कान्सेलोले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । ५० औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाइ २-१ गोलको अग्रता दिलाए । तीन मिनेटपछि गोर्डनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
६५ औँ मिनेटमा एडेयमीले गोल गर्दै बार्सिलोनालाई ४-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ४-१ गोलको विजयी भएको हो ।
जितसँगै बार्सिलोना २ खेलबाट ६ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट अंकविहीन गालाटासारे ३४ औँ स्थानमा रहेको छ ।
गएरातिनै भएको अर्को खेलमा एट्लेटिको म्याड्रिडले १० खेलाडीमा समेटिएको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २-० गोलले पराजित गरेको हो ।
मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन पाब्लो बारिओस र एडेमोला लुकम्यानले समान एक/एक गोल गरे । पहिलो मिनेटमै बारिओसले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । ७४ औँ मिनेटमा लेनि योरो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।
पाँच मिनेटपछि लुकम्यानले गोल गर्दै एट्लेटिकोलाई २-० गोलको जित दिलाएका हुन् । जितसँगै एट्लेटिको तीन अंक जोड्दै १३ औँ स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको युनाइटेड सातौँ स्थानमा रहेको छ ।
