काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा भारी मतान्तरसहित विजयी हुँदै थापाले नेतृत्वको जिम्मेवारी सम्हालेका हुन् ।
मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए । कुल खसेको मतमध्ये ५४ मत बदर भएको छ । सभापति पदमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् भने खड्गीले ५.३५ प्रतिशत मत पाएका छन् ।
सभापति चयनका लागि शुक्रबार बिहान साढे ८ बजेदेखि सुरु भएको मतदान राति १० बजे सम्पन्न भएको थियो । मतदान सकिएलगत्तै मतगणना सुरु गरिएको थियो ।
महाधिवेशनमा सभापति पदका लागि कुल ७ हजार १३ मत खसेको थियो । कुल ७ हजार ३१७ मतदाता रहेकामा २७८ जनाले मतदान गरेनन् ।
सभापति पदको मतगणना सकिएसँगै अब कांग्रेसको अन्य पदको मतगणना सुरु हुने भएको छ ।

