रुसमा रहेका नेपाली र युक्रेनका युद्धबन्दीबारे नेपाल–रुस द्विपक्षीय परामर्श बैठकमा छलफल

काठमाडौँ । नेपाल र रुसी महासङ्घबीचको द्विपक्षीय परामर्श बैठक बुधबार काठमाडौँमा सम्पन्न भएको छ । नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा भएको बैठकमा दुई देशबीचको समग्र सम्बन्धका विषयमा समीक्षा भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसारबैठकमा नेपाल र रुसी महासङ्घबीच लामो समयदेखि कायम मित्रता र घनिष्ठ साझेदारीप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गर्दै शिक्षा, मानव संसाधन विकास, संस्कृति, पर्यटन, जलवायु परिवर्तन, व्यापार तथा लगानीलगायतका क्षेत्रमा सहकार्य र सहयोगलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दुवै पक्षले आ–आफ्नो देशमा भएका राजनीतिक तथा आर्थिक विकासका विषयमा एकअर्कालाई जानकारी गराउनका साथै रुसी सेनामा रहेका नेपाली नागरिक, हराइरहेका नेपाली नागरिक, युक्रेनमा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिक तथा क्षतिपूर्तिसम्बन्धी विषयमा पनि छलफल भएको थियो । त्यसैगरी जलवायु परिवर्तन तथा बहुपक्षीय प्रणालीमा सहकार्यलगायत आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान भएको थियो ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र रुसी महासङ्घका उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहअध्यक्षता गरेका थिए । रुसी प्रतिनिधिमण्डलमा नेपालका लागि रुसी राजदूत अलेक्सेई सुरोवत्सेभ, रुसी विदेश मन्त्रालयका अधिकारी तथा रुसी दूतावासका कूटनीतिज्ञ सहभागी थिए ।

बैठकपछि परराष्ट्र सचिव राईले रुसी उपविदेशमन्त्री रुडेन्को तथा प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा दिवाभोज आयोजना गरेका थिए ।

नेपालको परराष्ट्र मन्त्रालय र रुसी महासङ्घको विदेश मन्त्रालयबीच परामर्शसम्बन्धी प्रोटोकलमा सन् १९९५ सेप्टेम्बर ५ मा हस्ताक्षर भएको थियो ।

यसैबीच, राजदूत सुरोवत्सेभले बुधबार साँझ स्वागत समारोह आयोजना गरे । त्यस अवसरमा उपविदेशमन्त्री रुडेन्कोले बहुआयामिक रुस–नेपाल सम्बन्धका विविध पक्षबारे मन्तव्य व्यक्त गर्दै आफ्नो मुलुकले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताए ।

संयुक्त राष्ट्रसङ्घका साथै शाङ्घाइ सहयोग सङ्गठनलगायत बहुपक्षीय मञ्चमा क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका साझा विषयमा दुवै देशले सहकार्य गर्दै आएका बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *