-नारायण गाउँले ।
देशको प्रधानमन्त्री हो तपाईं ! दलको सरकार हुन्छ, तर प्रधानमन्त्री त साझा हो, सबैको हो । अरूले तुच्छ टिप्पणी, गाली या व्यङ्ग्य गरे पनि प्रधानमन्त्रीले त्यस्तो गर्न सुहाउन्न । पदको आफ्नै गरिमा र अभिभावकत्व हुन्छ । देश एकै दिनमा या एउटा व्यक्तिले मात्रै बनाएर बन्ने वस्तु होइन । कसैले यसको सीमा कोरेको होला । कसैले देशहरूले देश निलिरहेको कठीन घडीमा समेत यसको सार्वभौमिकता बचाउन कूटनैतिक चातुर्य देखाएको होला । कसैले सोसल इन्जिनियरिङ्मा भूमिका खेलेको होला, कसैले बोल्न पाउने नागरिक हकका लागि जीवनभर लडेको होला ।
तपाईं हामी पढेको कलेज र विश्वविद्यालय पनि आफैँ ठडिएका होइनन् । मन लाग्दा चुनावमा उठ्न पाउने हक पनि कसैले नलडी आएको होइन । एउटा सिजन र नदीमा आउने बाढीले दुई दर्जन पुल बगाएको खबर पढिन्छ, ती पनि कसैले बनाएकै होला । एअरपोर्ट नभएको भए तँ कसरी विदेश जान्थिस् भनेर हामीले कसैलाई भन्न सुहाउँछ ? तर कुनै प्रधानमन्त्री या शीर्ष नेताले त्यस्तो भन्नु निकै छिचरो र अशोभनीय हुन्छ ।
प्रधानमन्त्री बनेपछि मन परेको मध्ये एउटा कुरा थियो, हिजोका जस्तो क्षुद्र र अराजनैतिक टिप्पणी तपाईंबाट आएको थिएन । तर आजको स्ट्याटसले अलि खिन्न बनायो । प्रतिपक्षी दलको महाधिवेशनमा शुभकामना दिने राजनैतिक संस्कार थियो । रविजी त्यही संस्कारका कारण त्यहाँ पुग्नुभएको थियो ।
तपाईंबाट त्यो न सही तर पदको गरिमासमेत नाघेर त्यस्तो टिप्पणी जरूरी थिएन । निजी फेसबुक पोस्ट हो भन्नका निम्ति सबै अफिसियल सूचना त्यहीँबाट आउँछ । मुद्दाहरूमा मजाले कटाक्ष र व्यङ्ग्य गर्न सकिन्छ । गर्न पनि पर्छ । तर यस्तो अप्रासङ्गिक विषयमा यति सस्तो टिप्पणीले नरमाइलो लाग्यो ।
