काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अवस्था नजिकिएको बताएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा भइरहेको महाधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै खड्काले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले कांग्रेसको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाइएकाले आफू त्यसमा सहभागी नभएको स्पष्ट पारेका छन् ।
उनले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूहरू सर्वोच्च अदालत पुगेको उल्लेख गरेका छन् । सो मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि निस्सा दिएको र मुद्दा हाल विचाराधीन रहेको उनको भनाइ छ ।
पुनरावलोकनको मुद्दाको अन्तिम टुंगो नलागेसम्म कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिए पनि अदालतबाट महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नभएको खड्काले बताएका छन् ।
यसका कारण कांग्रेसको नाममा अलग–अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले भने, ‘अब कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ ।’
खड्काले सम्भावित पार्टी विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको समेत बताएका छन् । कांग्रेस विभाजन भए त्यसको असर पार्टीभित्र मात्रै सीमित नरही नेपालको लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पर्न सक्ने उनको धारणा छ ।
