पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

इस्लामावाद । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारीमाथि विस्फोट हुँदा छ जना सैनिकको मृत्यु भएको छ । घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा पाकिस्तानी तालिबानका सदस्य रहेको आशङ्का गरिएका १० जना आतङ्ककारी मारिएको पाकिस्तानी सेना र प्रहरीले शुक्रबार जनाएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा बिहीबार सुरक्षा बलको सवारीलाई लक्षित गरी बम विस्फोट गराइएको स्थानीय अधिकारीहरूले बताएका छन् । विस्फोटमा छ सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ ।

सेनाका अनुसार उत्तरी वजीरिस्तान र हङ्गु जिल्लामा बिहीबार गरिएको विभिन्न गुप्तचर सूचनामा आधारित कारबाहीका क्रममा सन्दिग्ध आतङ्ककारी लुकेका स्थानमा छापा मारिएको थियो । ती कारबाहीमा १० जना आतङ्ककारी मारिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

सेनाले मारिएका व्यक्तिलाई ‘ख्वारिज’ भनेको छ । पाकिस्तानी सरकारले तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) का सदस्यलाई जनाउन उक्त शब्द प्रयोग गर्दै आएको छ । टिटिपी अफगानिस्तानमा सन् २०२१ मा पुनः सत्तामा आएको तालिबानबाट अलग सङ्गठन भए पनि दुवैबीच सम्बन्ध रहेको बताइन्छ ।

पाकिस्तानमा यस वर्ष पनि सुरक्षा बलमाथि भएका विभिन्न आक्रमणमा सैनिक मारिएका छन् । गत जुनमा आतङ्ककारीसँग भएको भिडन्तमा पाकिस्तानी रेन्जर्सका तीन सैनिक मारिएका थिए भने चार जना घाइते भएका थिए ।

पाकिस्तानले अफगानिस्तानमा रहेको तालिबान सरकारमाथि टिटिपीलाई आश्रय दिएको र सीमापारबाट हुने आतङ्कवादी आक्रमण रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएको छ । अफगानिस्तानको राजधानी काबुलस्थित सरकारले भने पाकिस्तानका यस्ता आरोपलाई पटक–पटक अस्वीकार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *