काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालले जापानका समकक्षी सानाए ताकाइची र परराष्ट्रमन्त्री तोशिमित्सु मोतेगीले रसुवाका बाढीपीडितप्रति देखाएको सद्भाव, ऐक्यबद्धता, सहानुभूति तथा समवेदनाका लागि धन्यवाद तथा आभार व्यक्त गरे ।
उनले जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको राहत सामग्री र अनुदान सहायताका लागि पनि धन्यवाद ज्ञापन गरे । जापान नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले जापानसँग विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनामा समेत सहयोगको अपेक्षा व्यक्त गरे ।
त्यस अवसरमा राजदूत तोरुले जापान सरकारले नेपाललाई विपद् प्रभावितको पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, उनले नेपालमा बाढी तथा यस्ता विपदहरुको उच्च जोखिम रहेको उल्लेख गर्दै यसका कारण तथा क्षतिका बारेमा थप वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको विषयमा जोड दिए ।
राजदूत तोरुले नेपाल–जापानबीच आपसी सम्बन्धका विविध आयामहरूमा रहिआएको उल्लेख गर्दै सहकार्यका साथै पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र शिक्षा क्षेत्रको सुधारलगायत विषयमा आफ्ना धारणा राखेका थिए । जापान लामो समयदेखि नेपालको विकासको साझेदार रहँदै आएको छ ।
