चीनमा कार्गो जहाजमा आगो लाग्दा २० जनाको मृत्यु

बेइजिङ । चीनको एक बन्दरगाहमा रोकी राखिएको विदेशी ध्वजाबाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान लोड गर्ने स्थानमा रहेको कार्गोमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ।

सीसीटीभीका अनुसार जहाजमा चालकदलका सदस्यासहित ४२ कर्मचारी थिए। आगलागीपछि १७ जनालाई सकुशल उद्धार गरिएको छ। पाँच जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने थप पाँच जना अझै बेपत्ता छन्।

बीस जना घटनास्थलमा मृत भेटिएको सीसीटीभीले जनाएको छ। प्रसारकले दिउँसो करिब २ः३० बजे खुला नियन्त्रणमा आएको बताएको छ। करिब बिहान ११ः१५ बजे लागेको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ।

“सन्डोङ प्रान्तको छिङदाओमा रहेको बेइहाई सिपबिल्डिङ कम्पनी लिमिटेडको विदेशी कार्गो जहाज मर्मतका लागि बन्दरगाहमा आएका बेला आगो लाग्दा ठूलो जनधनको क्षति भएको छ,” सिन्ह्वाले आगलागीेबारे बताएको छ।

राष्ट्रपति सी जिनपिङले तत्काल खोज र उद्धार अभियान सञ्चालन गर्न आह्वान गर्दै ‘घटनामा जिम्मेवारहरूलाई कडा रूपमा जवाफदेही बनाउनुपर्ने’ कुरामा जोड दिएको सिन्ह्वाले उल्लेख गरेको छ।

छिमेकी आवासीय परिसरका प्रत्यक्षदर्शीहरूले जहाजबाट बाक्लो धुवाँ आएको तर विस्फोटको आवाज नसुनेको बताएका छन्। “मैले संयोगवश जहाजमा आगलागी भएको देखिनुभन्दा पहिले धुवाँ आएको देखेँ, तर कुनै विस्फोटको आवाज भने सुनिएको थिएन,” एक प्रत्यक्षदर्शीले बताए।

सिन्ह्वाले घटनास्थलको एउटा तस्बिर सार्वजनिक गरेको छ जसमा ओशन मेलोडी नामक ठूलो जहाज ‘डक’मा रहेको र अगाडि धेरै दमकल गाडीहरू आगलागी नियन्त्रण गर्न भेला भएको देखिन्छ।

ओशन मेलोडी १९० मिटर (६२३ फिट) लामो तथा धेरै सामान बोक्ने लाइबेरियाली जहाज हो। छिङदाओ प्रमुख अन्तर्राष्ट्रिय समुद्री केन्द्र हो। यसले १८० भन्दा बढी देश र क्षेत्रका ७०० भन्दा बढी बन्दरगाहहरूसँग जोडिएको छ।

राष्ट्रपति सीले घटनाबारे दुःख व्यक्त गर्दै भनेका छन्, “सबै क्षेत्र र सम्बन्धित विभागले यस घटनाबाट गहन पाठ सिक्नुपर्छ र सबै प्रकारका आगोका जोखिमहरूको पूर्ण रूपमा छानबिन गरी सुधार गर्नुपर्छ।” घटनाको निष्पक्ष छानविन गर्न र दोषी उपर कडा कारबाही गर्न उनले निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *