नेपाली कांग्रेसको १५औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, वडा अधिवेशन असोज ३ र ४ मा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

नयाँ कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ। स्थानीय अनुकूलताअनुसार अधिवेशनको मिति तय गरी सम्पन्न गर्न सकिने समितिले जनाएको छ। देशभरका ६ हजार ७४३ वडामा अधिवेशन गरी वडा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।

त्यसैगरी गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका तय गरिएको छ।

केन्द्रीय महाधिवेशन भने असोज १६, १७, १८ र १९ गते काठमाडौंमा सम्पन्न गर्ने कांग्रेसले जनाएको छ।
रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षति तथा त्यसबाट विभिन्न जिल्लामा परेको प्रभावलाई ध्यानमा राख्दै अधिवेशनको कार्यतालिका संशोधन गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा तोकिएका निर्वाचन अधिकृतले पार्टीका स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्नेछन्।

नेपाली जनसम्पर्क समितिका बाँकी रहेका देशको अधिवेशन भने असोज १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ। जिल्ला र प्रदेश अधिवेशनको विस्तृत समयतालिका दोस्रो चरणमा सार्वजनिक गरिने समितिले जनाएको छ।
केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर पहिलो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको समितिको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *