यसरी हुँदैछ सुरुङमा बेपत्ताको खोजीकार्य

काठमाडौँ । भोटेकोसी नदी क्षेत्रमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङहरूमा अझै धेरै मानिसहरू फसेको अवस्थामा रहेकाले खोज तथा उद्धार प्रयास जारी छ । नेपाली उद्धार टोलीसँगै विभिन्न मुलुकका सुरुङ उद्धार टोलीहरूले फसेका व्यक्तिको खोजीकार्यलाई तीव्रता दिएका छन् ।

सुरुङ खोल्ने दिशामा केही काम भएको तर सुरुङको भित्री भाग हिलो र ठूला ढुङ्गाहरूले भरिएकाले अझै थप काम गर्नुपर्ने अवस्था रहेको सरकारले जनाएको छ । भारतीय सुरुङ उद्धार टोलीले चिलिमे र लाङटाङमा नेपाली उद्धार टोलीसँग निकट समन्वयमा काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आवश्यक उपकरणसहित उनीहरूले खोजीकार्य जारी राखेका भन्दै सहयोगका लागि एउटा एक्स्काभेटर पनि चिलिमेतर्फ पठाउन लागिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार यसैगरी, लाङटाङ साइटमा २५ जना नेपाली सेना, जलविद्युत् आयोजनाका दुई जना कर्मचारी तथा ‘ड्रिलिङ’ उपकरणसहित आधुनिक मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिमतर्फ अर्को सानो प्वाल खोलिएको छ । यसमा थप कार्य जारी छ ।

अपर त्रिशूली ३ ‘ए’ साइटमा कुल ९३ सदस्यीय उद्धार टोली संयुक्त रूपमा स्थलमा काम गरिरहेको मन्त्रालयको भनाइ छ । “चिनियाँ सुरुङ उद्धार टोली त्यहाँ परिचालित रहँदै नेपाली उद्धार टोलीसँग मिलेर काम गरिरहेको छ । थप जनशक्ति तथा उपकरणसहित टोलीलाई सुदृढ गरिएको छ”, प्रवक्ता क्षेत्रीले भने ।

अपर त्रिशूली ३ ‘बी’ साइटमा हाल ६७ जना नेपाली सेना र जलविद्युत् आयोजनाका तीन जना प्राविधिक विज्ञहरूको टोली एक्स्काभेटरसहित काम गरिरहेको छ । ‘भग्नावशेष संरचना खोज तथा उद्धार टोली’लाई पनि यस कार्यमा थप गरिएको छ ।

हाकुको अपर त्रिशूलीमा नेपाली सेना तथा जलविद्युत् आयोजनाका कर्मचारीहरू पुनः सुरुङभित्र प्रवेश गरी खोज कार्य जारी राखिरहेका छन् । त्यस्तै, रसुवागढी साइटमा एक्स्काभेटर परिचालन गर्न सकिने सम्भावनाको मूल्याङ्कन गर्न रेकी उडानहरू सञ्चालन भइरहेका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

अपर त्रिशूली–१ साइटमा कोरियाली सुरुङ उद्धार टोलीले नेपाली टोलीसँग मिलेर अपर त्रिशूली–१ को सुरुङ खोल्ने कार्य जारी राखेको भोटेकोशी बाढीसम्बन्धी आज मन्त्रालयमा आयोजित ‘प्रेस ब्रिफिङ’ प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

‘डिएनए’ सङ्कलन र विश्लेषणमा ‘फरेन्सिक’ विदेशी टोली

त्यस्तै भारतको १९ सदस्यीय फरेन्सिक टोली, चीनको पाँच सदस्यीय विशेष फरेन्सिक टोली तथा सिङ्गापुरको २४ सदस्यीय ‘विपद् पीडित पहिचान टोली’मध्ये १९ जना नेपाली टोलीसँग मिलेर काम गरिरहेका छन् । जारी डिएनए सङ्कलन, विश्लेषण तथा प्रतिवेदन प्रक्रियालाई तीव्रता दिइएको छ ।

सिङ्गापुरको ‘डिभिआई’ टोलीका बाँकी सदस्यहरू ड्रोन तथा सम्बन्धित सामग्रीसहित आज र भोलि आइपुग्ने मन्त्रालयले जनाएको छ । गणतन्त्र कोरियाका दुई जना फरेन्सिक अधिकारीहरू पनि आवश्यक उपकरण तथा सामग्रीसहित हालै यस कार्यमा सहभागी भएका छन् ।

प्रवक्ता पौडेल क्षेत्रीले भने, “नेपालमा उपलब्ध तथा विश्वभरबाट प्राप्त सबै विशेषज्ञता र स्रोतसाधनको अधिकतम उपयोग गरेका छौँ र यी कार्यहरू प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्न सम्भव सबै प्रयास गरिरहेका छौँ ।”

सरकारले भोटेकोशी बाढी विपद् प्रभावितको खोज, उद्धार तथा राहत कार्यहरू जारी राखेको छ । हालसम्म प्राप्त पछिल्लो जानकारीअनुसार, प्रभावित क्षेत्रहरूबाट एक हजार २५२ वटा शव फेला परेका छन् । करिब चार हजार २०० जना अझै बेपत्ता छन् भने हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

प्रवक्ता क्षेत्रीका अनुसार उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन् । जसमा केहीसँग सम्पर्क स्थापित भइसकेको छ र उनीहरू सुरक्षित अवस्थामा छन् । विभन्न ३४ देशका करिब ५९० जना विदेशी नागरिक अझै बेपत्ता छन् ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी नेपाली सेना जनशक्ति हाल परिचालित छन् । उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापन, सडक खुलाउने तथा आकस्मिक स्वास्थ्य सहायता प्रदान गर्ने कार्य गरिरहेका छन् ।

थप सामग्री सहयोगका लागि अनुरोध

छिमेकी, मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय समुदायबाट प्राप्त उद्धार सहयोगका उपकरण, ड्रोन, लोड क्यारियर तथा सामग्रीहरू खोज, उद्धार राहतका कार्यहरूमा प्रयोग भइरहेका छन् ।

साथै नेपाल सरकारले विभिन्न मुलुक र निकायलाई उच्च क्षमताका ड्रोन, लाइडर, बेली ब्रिज, महामारी रोकथामका सामग्री, डिएनए परीक्षण किट, मानव अवशेष राख्ने झोला, बाढी उद्धार ट्रक, मोबाइल एयर ट्राफिक कन्ट्रोल प्रणाली, ग्राउन्ड पेनेट्रेटिङ रडार, उच्च शुद्धताको लेजर मिटर, ब्रोडब्यान्ड सिस्मोमिटर, उच्च क्षमताको सर्ज पम्प, प्रयोगशाला फ्रिजरलगायत सामग्री सहयोगका लागि थप अनुरोध गरेको छ ।

हालसम्म भारत, चीन, संयुक्त अधिराज्य, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, सिङ्गापुर, गणतन्त्र कोरिया, अष्ट्रेलिया, जर्मनी, लाट्भिया, मलेसिया, म्यान्मा, भूटान, बङ्गलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलङ्का, थाइल्यान्ड, न्युजिल्यान्डलगायत युरोपेली सङ्घ, एसियाली विकास बैङ्क, विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घ तथा अन्य संस्थाहरूले विभिन्न राहत सहयोग गरिसकेका छन् ।

जलवायु परिवर्तनको परिणाम भोटेकोसी बाढी

हिमालय क्षेत्रको संवेदनशीलता, पर्वतीय मुलुकहरूमाथिको जोखिम तथा तीव्र रूपमा तातिँदै गएको जलवायुका कारण बढ्दै गएका परिणामले भोटेकोशी बाढी गएको नेपाल सरकारको दाबी छ । प्रवक्ता क्षेत्रीले भने, “नेपालले विश्वव्यापी उत्सर्जनमा नगन्य योगदान गर्छ, तर तातिँदै गएको हिमालयका प्रभावहरूको असमान रूपमा ठूलो भार नेपाली जनताले बेहोर्नुपरिरहेको छ । नेपालले पहिलो संस्करणको सगरमाथा संवाद तथा विभिन्न अन्तरराष्ट्रिय मञ्चहरूमार्फत यस्ता वास्तविकतातर्फ निरन्तर ध्यानाकर्षण गराउँदै आएको छ ।”

जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी तथा उत्थानशील पुनर्निर्माण कागजमा गरिएका प्रतिबद्धताबाट बाहिर निस्केर व्यवहारमा ठोस कार्यमा रूपान्तरण हुनुपर्ने सरकारको भनाइ छ । उनले भने, “हामीले तत्काल सहयोगका लागि जलवायुजन्य हानी तथा नोक्सानी कोषको बोर्डका सह(अध्यक्षलाई पत्र पठाइसकेका छौँ ।”

चीनतर्फ एक सय नेपाली नागरिक अझै बेपत्ता

यसैगरी उत्तरी छिमेकी चीन सरकारले तिब्बतबाट नेपाली तथा विदेशी नागरिकहरूलाई नेपाल(चीन सीमाका अन्य नाकाहरू हुँदै फर्कने व्यवस्था मिलाएको छ । प्रवक्ता क्षेत्रीका अनुसार केरुङबाट ११४ जना नेपाली नागरिक आज तातोपानी नाका हुँदै नेपालतर्फ आउँदैछन् । उनीहरूमध्ये अधिकांश रसुवा जिल्लाका सीमा वारपार अनुमतिपत्र प्राप्त (पासधारी) नागरिक हुन्, जो व्यापार तथा व्यवसायका लागि नियमित रूपमा चीन जानेआउने गर्छन् ।

“हाल करिब एक हजार ४०० जना नेपाली नागरिक केरुङमा रहेका छन् र छिट्टै फर्कन चाहनेका लागि हामी चिनियाँ पक्षसँग समन्वय गरिरहेका छौँ । त्यस दिन चिनियाँ सीमातर्फबाट करिब एक सय जना नेपाली नागरिक अझै बेपत्ता छन्”, प्रवक्ता पौडेल क्षेत्रीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *