काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन साहसँग भेटवार्ता गरेका छन् । बिहीबार उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको उज्यालो नेपाला पार्टीका अध्यक्ष घिसिङले जानकारी दिएका छन् । भेटमा प्रधानमन्त्रीले सुरुङभित्र थुनिएकाहरुलाई कसरी उद्धार गर्ने विषयमा घिसिङसँग जिज्ञासा राखेका थिए ।
उनले भने, ‘उद्धारका लागि समग्र रूपमा सुझाव दिएका छौँ । सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने विषयमै उहाँको जिज्ञासा थियो । त्यस सम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौँ । उहाँले पनि सकेको जुनसुकै काम गर्नु परेपनि अगाडि बढ्ने भनेर भन्नुभएको छ ।’
अध्यक्ष घिसिङले उद्धार तथा राहतका लागि कुनै विशेष प्रविधिको आवश्यकता नरहेको बताए । उनले साधारण उपकरण र दक्ष उद्धार टोली परिचालन गरेरै उद्धार कार्य गर्न सकिने बताए ।
घिसिङका अनुसार उद्धारका क्रममा मुख्य चुनौती भनेको जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनलगायतका हेभी इक्विपमेन्ट घटनास्थलसम्म पुर्याउनु हो ।
उनले हेभी उपकरण घटनास्थलसम्म लैजान आवश्यक हेलिकप्टरलगायतका साधन तत्काल परिचालन गर्नुपर्नेमा जोड दिए । सुरुङभित्र फसेकाहरुको उद्धार उद्धार नभएको भन्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्रीले घिसिङलाई भेट्न बोलाएका हुन् ।
